संघीयता कार्यान्वयनका लागि बजेटको आकार बढ्दै, कर पनि बढ्ने

Budject

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको सिलिङ बढाउने तयारी गरेको छ । संघीयता कार्यान्वयन महंगो हुने भएपछि सरकारले स्रोत परिचालनको दायरा बढाउने र करको दर पनि बढाउने तयारी गरेको छ ।

राष्ट्र बैंकले सोमबार आयोजना गरेको पूर्ववजेटकालीन अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले संघीयता कार्यान्वयनका लागि तीनदेखि पाँच खर्ब रुपैयाँ थप बजेट आवश्यक पर्ने दावी गरेका छन् । गभर्नर नेपालले आगामी आवमा स्रोत परिचालन निकै चूनौतीपूर्ण हुने उल्लेख गरे ।

संघीयता कार्यान्वयनका तल्लो तहलाई ठूलो रकम केन्द्र सरकारले नै उपलब्ध गराउनुपर्ने भएपछि आगामी आवको बजेट बढ्ने संकेत देखिएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको आकार चालू आर्थिक वर्षको भन्दा कम्तीमा ३ खर्ब ठूलो बनाउने भएको छ ।

सरकारले चालू आवमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको छ । यसवर्ष न्यूनतम तीन खर्ब रुपैयाँ तल्लो तहलाई दिए पनि आगामी आवको बजेट १५ खर्ब रुपैयाँ नाघ्नेछ ।

सरकारले चालू आवमा संघीयता कार्यान्वयनका लागि छुट्याएको बजेट संक्रमणकालीन व्यवस्थापनका लागि मात्रै थियो । आगामी आवमा त्यसका लागि अलि ठूलो रकम आवश्यक पर्ने देखिएपछि बजेटको आकार बढाउनुपर्ने महसुस बजेट निर्माणमा संलग्न सरकारी अधिकारीलाई हुन थालेको देखिन्छ ।

सरकारले चालू आवमा स्थानीय तहलाई सबा दुई खर्ब र प्रदेशका लागि सात अर्ब १४ अर्ब रुपैयाँमात्र दिएको थियो ।

यसअघि अर्थ मन्त्रालय, योजना आयोग लगायतको संलग्नतामा गठन हुने स्रोत समितिले बजेटको सिलिङ १२ खर्ब चार अर्ब रुपैयाँ तोकेको थियो । तर, पछिल्लो समय प्रदेश र स्थानीय तहले केन्द्रबाट आउने राजश्व बाँडफाँट र अनुदान रकममा असन्तुष्टि जनाउँदै आएका छन् ।
बजेटको आकार बढाउनुपर्ने भएपछि करको दायरा विस्तार र राजश्व चुहावट नियन्त्रणमा पनि कडाई गर्नुपर्ने सरकारी अधिकारीहरूले बताउँदै आएका छन् । राजश्वको दायरा विस्तारबाट थप एक खर्बजति पूँजी जुटाउन सकिने गभर्नर नेपालले बताए ।

तल्लो तहबाट आउने बजेटको अत्यधिक मागको धान्न पनि आगामी आवको बजेटको आकार बढाउने चापमा सरकार छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ५६ प्रतिशतसम्मको बजेट ल्याउने अभ्यास विश्वमा छ । आगामी आवमा १५ खर्बको बजेट ल्याएको खण्डमा त्यो नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ३० खर्बको आधामात्रै हुन्छ ।

प्रतिकृया दिनुहोस