सिन्डिकेट पक्षधर व्यवसायी सिन्डिकेट हटाउने ‘कागज’ गर्दै रिहा भए

Yogendra

काठमाडौँ । यातायात क्षेत्रमा सिन्डिकेट लागु गर्न नपाएपछि आन्दोलनमा उत्रिएका व्यवसायी पक्राउ परेको दुई दिनपछि सिन्डिकेट हटाउने कागज गर्दै रिहा भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतका पदाधिकारीहरु सिन्डिकेट अन्त्य गर्ने सरकारको कदमलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएर थुनामुक्त भएका हुन् । प्रहरीले सार्वजनिक गाडी नचलाउने देशभरका ९३ व्यवसायीलाई शुक्रबार र शनिबार पक्राउ गरेको थियो ।

व्यवसायीको लिखित प्रतिबद्धतामा सिन्डिकेट नगर्ने, कम्पनी दर्ता गरेर यातायात सञ्चालन गर्ने उल्लेख छ । ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारीसाधन चलाउँछु र सरकारलाई सहयोग गर्छु,’ प्रतिबद्धतामा उल्लेख छ ।

सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा व्यवसायीले शुक्रबार देशभरि सार्वजनिक यातायात बन्द गरेका थिए ।

गृहमन्त्री रामबहादुर थापाले यातायात सञ्चालन गर्छु भनेर कागज गर्न नमान्ने व्यवसायीविरुद्ध सार्वजनिक मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएका थिए ।

लिखित कागज गरेका देशभरका अरू यातायात व्यवसायीलाई समेत रिहा गरिएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।

प्रतिकृया दिनुहोस