देशभर यातायात व्यवसायी नेताको भागाभाग, दर्जनौं पक्राउ

'ढिंडो खानेलाई होईन, सुन खानेलाई पक्र : व्यवसायी'

Yatayat 1

काठमाडौँ । सिन्डिकेट कायमै राख्न माग गर्दै यातायात व्यवसायीले शुक्रबारदेखि थालेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी व्यवसायीका नेताहरुलाई धमाधम पक्रन थालेपछि व्यवसायीहरुको भागाभाग भएको छ ।

यातायातजस्तो अत्यावशकीय क्षेत्रमा हड्ताल गरी सर्वसाधारणलाई दुःख दिएको भन्दै गृहमन्त्रीले पक्राउ गर्न आदेश दिएपछि यातायात व्यवसायीहरु पक्राउ परेका हुन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलालाई भृकुटीमण्डपबाट प्रहरीले पक्राउ गरेको छ ।

देशभर विभिन्न समितिका गरी ४० जना भन्दा बढी सिन्डिकेट पक्षधर व्यवसायीका नेता पक्राउ परेका छन् ।

यातायात व्यवसायीको आन्दोलनले देशभर छिटपुट बाहेक गाडी चलेका छैनन् । यातायात बन्दले जनजीवन प्रभावित भएको छ । एम्बुलेन्स, निजी सवारी साधन, दूधका गाडी, मोटरसाइकल, ट्याक्सी तथा टेम्पोहरु चलेका छन्।

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

यता, सरकारले राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट सबै यातायात समिति र संघका काउन्टर हटाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका अनुसार समिति र संघका सबै काउन्टर र त्यहाँ राखिएका बोर्ड हटाएर विभिन्न यातायात कम्पनीहरुका बोर्ड राख्न थालिएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुलसी अर्यालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय कार्यान्वयन गर्ने क‍्रममा नयाँ बसपार्कबाट समिति र संघका बोर्ड हटाउन थालिएको हो ।

यस्तै, गाडी ग्यारेजमा थन्काएर सरकारलाई असहयोग गर्ने २६ वटा माइक्रोको रुट इजाजत विभागले खारेज गरिदिएको छ ।

विभिन्न समिति र सं‌घको नाममा नयाँ बसपार्कबाट यात्रा गर्ने यात्रुले दैनिक ठगिनुपरेको छ । बसपार्कमा टिकटका लागि हुने दलाली र बिचौलियाका कारण यात्रुले समस्या बेहोर्नुपरेका बेला सरकारको यस्तो कदम चालेको हो ।

प्रहरीले व्यवसायीका नेता पक्राउ गरेपछि व्यवसायीहरुले ठाउँ–ठाउँमा नाराबाजी गरेका छन् । धरानमा यातायात व्यवसायी र मजदुरले वडा प्रहरी कार्यालय घेराउ गर्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नारावबाजी गरेका थिए ।

उनीहरुले केपी ओली मुर्दावाद, ढिडो खानेलाई होइन, सुन खानेलाई पक्राउ गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाएका थिए । यातायात व्यवसायी श्याम कट्टेल सहित नौजना पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस