कसो गर्दा शोषण अन्याय हुँदैन, सरकार त्यसै गर्न तयार छ : प्रधानमन्त्री

Ji fant 768x366

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कायम गर्न र उत्पादन वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौँ ।’ उनले भने ‘कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ, कसरी उत्पादनमा बृध्दि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ ।’

भेटघाटको सुरुवातमा अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा वृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका थिए । उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रभावकारी सुरुवात हुनु पर्नेमा जोड दिएका थिए ।

जवाफमा प्रधानमन्त्रीले अब आवश्यकता पूरा गर्नका लागि आन्दोलन र हड्ताल गर्नु नपर्ने बताए । श्रमजीवी वर्गका लागि अनुकूल सरकार बनेकाले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको समेत बताए । प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

प्रतिकृया दिनुहोस