यातायात सिन्डिकेट : बाहिर आन्दोलनको धम्की, भित्र कम्पनी दर्ता

Yatayat

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेटप्रति सरकार कठोर रुपमा प्रस्तुत भएपछि यातायात व्यवसायी समितिहरु धमाधम कम्पनीमा दर्ता हुन थालेका छन् । केही महत्वपूर्ण संघ तथा समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका छन् ।

कम्पनीमा जानैपर्ने भएकाले उनीहरूले कम्पनीका लागि प्रक्रिया पुर्‍याइरहेका छन् । सबै समितिलाई कम्पनीमा जानैपर्ने स्थिति आए आफ्नो नाम खोसेर अर्कैले कम्पनी दर्ता गर्ने डर व्यवसायीलाई छ ।

१८ चैत यता २४ वटा यातायात कम्पनी कार्यालयमा दर्ता भएका कम्पनी रजिष्ट्रारको कार्यालयले जनकारी दिएको छ । यो अवधिमा ६५ वटा कम्पनीको नाम स्वीकृत भएका छन् भने ८१ वटाको अस्वीकृत भएका छन् ।

पछिल्लो समय निकै विवादमा आएको अरनिको यातायात कम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो ।

तर, व्यवसायीहरु भने व्यवसाय कम्पनीमा दर्ता गरेको कुरा खुलेर स्विकार गर्न चाहिरहेका छैनन् । अरनिको यातायात सेवा समितिले पनि आफू कम्पनीमा नगएको दावी गरेको छ ।

कम्पनीमा गएको अरनिको यातायात सेवा समिति २०२९ सालमा काभ्रेको बनेपामा स्थापना भएको संस्था हो । यो समितिसँग हाल ६५० भन्दा बढी गाडी आवद्ध छन् ।

अरनिको मात्रै होइन, अन्य समितिका पदाधिकारी पनि पनि नाम ‘रिजर्भ’ गर्न आउन थालेको कार्यालयका अधिकारीहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस