हिमालयन बैंकका लगानीकर्ता संकटमा ! यी छन् कारण

एकसातापछि बस्ने बोर्ड बैठकले के गर्ला त निर्णय ?

Himalaya bank.pvt ltd

काठमाडौं । कुनै समय निक्कै विश्वासिलो बैंक भनेर चिनिएको थियो हिमालयन बैंक । तर अहिले पछिल्लो समयमा बैंकले सेवाग्राहीको मात्रै होइन, लगानीकर्ताकै विश्वास गुमाउन थालेको छ ।

हिमालय समशेर राणाले प्रारम्भ गरेको हिमालयन बैंकमा संचालक समितिको मनोमानीले गर्दा बैंक नै डुब्ने अवस्थामा पुगेको छ । यतिसम्मकी संचालक समिति र व्यवस्थापनको कमजोरीका कारण सयौं लगानीकर्ता संकटमा पर्न थालेका छन् ।

पछिल्ला समयमा हिमालयन बैंकका विभिन्न शाखाहरुले सेवाग्राहीलाई भनेजस्तो सेवा दिन सकेका छैनन् । सानो सानो कुरामा पनि दुःख दिने गरेका छन् । पुरानो वानेश्वर, डिल्लीबजार लगायतका शाखामा एउटा चेक साट्न पनि कर्मचारीले ढिलासुस्ती गरेर समय बिताइ दिने गरेको सेवाग्राहीहरुले बताएका छन् ।

सञ्चालक समितिको दादागिरी
हिमालयन बैंकले कम्पनी संचालन नियमावली बनाउँदा संस्थापक समूहबाट मात्रै अध्यक्षसहित संचालक निर्वाचित हुने प्रावधान राखेको थियो । सोही अनुसार हिमालयन बैंकमा अहिलेसम्म सस्थापकहरु नै सञ्चालक समितिमा रहिरहेका छन् ।

पछिल्लो समय कानुनले नै अध्यक्ष जुनसुकै समुहबाट समेत आउन सक्ने प्रष्ट पारिदिइसकेपछि पनि हिमालयन बैंकले भने विदेशी साझेदारहरुको शर्त लगायतका कारण देखाउँदै कानुन कार्यान्वयन गर्न मानिरहेको छैन । जसका कारण बैंकको संस्थापक सेयरधनीहरुले एकलौटी रुपमा बैंक सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो ऐनअनुसार बैंकको नियमावली संशोधन नगर्दा अन्य शेयरधनीले सञ्चालन समितिमा पाइला राख्न पाएका छैन । अन्य शेयरधनीलाई सञ्चालक समतिमा ल्याउन बाटो रोकेर अहिलेका सञ्चालक समितिले सधैं आफुखुसी गर्ने गरेका छन् । जसका कारण बैंक धरासायी बन्ने अवस्थामा पुगेको छ । ‘आफ्नै हात जगन्नाथ’ भनेझै राष्ट्रबैंकको निर्देशनसमेत उल्लंघन गर्दै आएको छ ।

हाल हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणा छन् भने संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ छन् । नेपाल राष्ट्रबैंकले हिमालयन बैंकलाई सबै समुहका शेयरधनीलाई सञ्चालक समितिमा बस्न पाउने बाटो खुल्ला गर्न पटकपटक निर्देशन दिएको थियो ।
राष्ट्रबैंककै निर्देशन उल्लंघन गरेका कारण बैंक नै धरापमा पर्न थालेपछि एक साताभित्र नियमावली संशोधनको तयारीमा लागेको छ । सामान्यतय प्रत्येक दुई/दुई महिनामा बैंकको सञ्चालक समितिको बैठक बस्ने गरेको छ ।

‘योपटक विदेशी लगानीकर्ता पनि आउनुपर्ने भएकाले केही ढिलाई भएको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले भने, ‘अब एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर राष्ट्रबैंकको नीतिअनुसार एने संशोधनको प्रस्ताव पारित हुन्छ ।’

संस्थापक मध्येबाट सञ्चालक समितिमा सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) छन् । मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ) सञ्चालक समितिको अध्यक्ष छन् । एन ट्रेडिङ र छाया इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवार हो । अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन् । एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ ।
आभा इन्टरनेसनल हिमालय शमशेर राणाको हो । जसको ११.३८ प्रतिशत सेयर छ । ११.८५ प्रतिशत सेयर रहेको खेतान समुहको छ । तर खेतान समुहसँग हालको सञ्चालन समतिको टसल छ । जितेन्द्र धिताल, सुरेन्द्र सिलवाल, उपेन्द्र केशरी पौड्याल पनि सञ्चालक हुन् ।

संकटमा १७ हजार शेयरधनी
ऐनमा जे लेखिएको भए पनि हिमालयन बैंकमा सञ्चालक समितिमा अध्यक्ष सर्वेसर्वा हुने गरेका छन् । त्यसमा पनि सञ्चालक समिति शेयरधनीका लागि निरंकुस नै बन्ने गरेको छ ।

अध्यक्षमा संस्थापकको एकलौटी अधिकार नयाँ कानूनले खारेज गरिदिइसकेको अवस्थामा हिमालयन बैंकमा राज गरिरहनेहरुको चाहनाले १७ हजार सेयरधनीको लगानी संकटमा परेको छ ।

हिमालयन बैंकले पुस अन्तिम साता २५ औं वार्षिक साधारणसभा गरेको थियो । सो साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

तर, बैंकले प्रस्ताव गरेअनुसारको लाभांश साधारणसभाबाट पारित भएको साँढे तीन महिना हुन लाग्दासमेत नेपाल राष्ट्रबैंकले स्वीकृति दिएको छैन । केन्द्रीय बैंकको स्वीकृति नदिँदा बैंकको चुक्तापूँजी वृद्धिको यात्रा मात्र रोकिएको छैन, सेयरधनीले समेत भनेको समयमा लाभांश प्राप्त गर्न सकेका छैनन् ।

राष्ट्रबैंकका एक उच्च स्रोतका अनुसार बैंक संचालक समिति र उच्च व्यवस्थापनले कानुन नमान्ने र पेलेरै जान खोज्ने रणनीति लिएका कारण बैंकको २५ औं साधारणसभाले पारित गरेका बोनस र लाभांस वितरण हुन सकिरहेको छैन ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले राष्ट्रबैंकले स्वीकृत नदिएका कारण सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण रोकिएको स्वीकार गरे ।

‘राष्ट्रबैंकसँग छलफल भइरहेको छ’ राणाले निशान न्युजसँग भने, ‘अब चाँडै सेयरधनीलाई बोनस सेयर र लाभांश वितरण गछौं । अहिले केही प्राविधिक कारणले मात्रै रोकिएको हो ।’

प्रत्येक दुई/दुई महिनामा बैंकको सञ्चालक समितिको बैठक बस्ने भएकाले शेयरधनीलाइै बोनस वितरणमा ढिलाई भएको प्रमुख कार्यकारी अधिकृत राणाले बताए ।

नेपाल राष्ट्रबैंकले हिमालयन बैंकको साधारणसभाबाट पारित गरे अनुसारको लाभांश वितरणको स्वीकृति नदिनुको एउटै मात्र कारण भनेको बैंक संचालक समिति र व्यवस्थापनको अकर्मण्यतालाई मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...