खुला भएको ९ वर्षमा २७ लाख गरे नारायणहिटी सङ्ग्रहालयको अवलोकन

Naraynhiti

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको ९ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् ।

२०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । मंगलबार र बुधबारबाहेक ५ दिन सर्वसाधारणका लागि खुला गरिने सङ्ग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ । 

नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका एक लाख ५५ हजार ५७६ र अन्य मुलुकबाट ६५ हजारले ३०८ अवलोकन गरेका छन् । यसबाट २३ करोड २४ लाख ५१ हजार ५०५ राजश्व संकलन भएको छ । टिकट बिक्रीबाट २३ करोड ९ लाख ६७ हजार ३ सय र सवारी साधन पार्किङबाट १४ लाख ८४ हजार २०५ आम्दानी भएको सङ्ग्रहालयका सूचना अधिकारी अद्धैत श्रेष्ठले जानकारी दिए । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्म मात्र २ लाख ३५ हजार ५३४ दर्शकले सङ्ग्रहालय अवलोकन गरेकामा ८७ हजार ९१८ विद्यार्थी, एक लाख २८ हजार ६२ सर्वसाधारण, १३ हजार २१३ चीनसहित सार्क मुलुकका दर्शक र ६ हजार ३४१ अन्य मुलुकका दर्शक रहेका छन् ।

यो वर्षमात्र २१ लाख ३ हजार ८३१ राजश्व संकलन भएको छ । यस्तै आठ हजार ३९२ सवारी पार्किङबाट एक लाख ३५ हजार ८७५ संकलन भएको छ । सङ्ग्रहालयले मोटरसाइकल पार्किङका लागि १०, कार र जिपका लागि २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि ५० दस्तुर लिदै आएको छ ।

सङ्ग्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख रोहितकुमार ढुंगाना सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन सके दर्शकको संख्या वृद्धि हुने बताउँछन् । ‘विभिन्न कारणले दरबारभित्र रहेको श्रीपेचलगायतका सामग्री देखाउन सकिएको छैन, यस्ता वस्तुलाई समेत अवलोकनमा राख्न सके थप दर्शक भित्र्याउन सकिन्छ’, उनी भनछन् ।

सङ्ग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । सङ्ग्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ ।

प्रतिकृया दिनुहोस