निर्वाचन क्षेत्र कार्यक्रमका नाममा १० करोड दिन सांसदको दबाब

Samsad bikas kosh

काठमाडौं । सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि भन्दै १० करोड रुपैया माग गरेका छन् । प्रतिसांसद् खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्याउन सांसदहरुले सरकारलाई दबाब दिएका हुन् ।

सरकारले पहिला प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा ७ अर्ब २० करोड रकम विनियोजन गरेको थियो । यसबाहेक प्रत्येक सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा ५० लाख रुपैयाँ खर्च गर्न पाउने गरी ६०१ सदस्यका लागि ३ अर्ब ५० लाख रुपैयाँ पनि छुट्याएको थियो ।

तर, यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्याउन र प्रतिसांसद १० करोड दिन उनीहरुले दबाब दिएका हुन् ।

हाल सांसदहरुले भनेअनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट बढाइए हाल संघीय संसदमा कायम १६५ क्षेत्रका लागि १६ अर्ब ५० करोड रुपैयाँ छुट्याउनुपर्ने हुन्छ । प्रत्येक सांसदले ५० लाख खर्च गर्न पाउने गरी राखिएको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई पनि रिनन्तरता दिए प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभाका २७५ सांसदका नाममा १ अर्ब ३७ करोड ५० लाख रकम छुट्याउनुपर्ने हुन्छ ।

यसरी निर्वाचन क्षेत्र कार्यक्रमका लागि रकम छुट्याउँदा सरकारी ढुकुटीको १८ अर्ब खर्च हुन्छ ।
चालू आर्थिक वर्षमा खर्च गर्ने गरी निर्वाचन क्षेत्र विकासका नाममा सरकारले विनियोजन गरेको १० अर्बभन्दा बढी रकम नयाँ सांसदले खर्च गर्ने कि पुरानाले भन्ने विवाद कायमै छ । पुराना सांसदहरुले सो रकम आफुले खर्च गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस