एडिबीले भन्यो, सन् २०१९ मा नेपालको वार्षिक मुद्रास्फिति दर ६ प्रतिशत रहन्छ

Adb 28

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०१९ मा नेपालको वार्षिक मुद्रास्फिति दर ६ प्रतिशत रहने प्रक्षेपण समेत सार्वजनिक गरेको छ ।

एडीबीले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुनसक्ने प्रक्षेपण समेत सार्वजनिक गरेको छ । तर, त्यसका लागि राम्रो मनसुन भए मात्र त्यो सम्भव हुने बताएको छ ।

एडीबीले यो वर्ष नेपालको आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपणमा संसोधन गर्दै ४.९ प्रतिशत हुने अनुमान गरेको छ । एडीबीले बुधबार ‘एशियन डेभलपमेन्ट आउटलुक २०१८’ सार्वजनिक गर्दै यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

‘अघिल्लो आवको तुलनमा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि हुने तर औद्योगिक वृद्धिदर कम हुने अनुमान गरिएको छ’, बैंकका देशीय निर्देशक खामुदखानोभले उक्त प्रकाशनका मुख्य बुँदाबारे जानकारी दिँदै भने । 

नेपाल सरकारले बजेटको मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित गरिदिएको थियो । यसअघि एडीबीले पनि यो वर्षको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

एडीबीले सन् २०१७ मा भने नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्षको तुलनामा २०१८ मा नेपालको आर्थिक वृद्धिदरमा २ प्रतिशतले कमी आउने एडीबीले विश्लेषण गरेको हो ।

एडीबीले २०१७ को तुलनामा २०१८ मा महंगी समेत बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । २०१७ मा ४.५ प्रतिशत रहेको नेपाली मुद्रास्फिति दर बढेर २०१८ मा ५.५ प्रतिशत पुुग्नसक्ने एडीबीको प्रक्षेपण छ ।

सन् २०१९ मा नेपालको जीडीपी ग्रोथ बढ्ने मुख्य कारणको रुपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको योगदानलाई समेत जोडिएको छ । एडीबीले २०१७ को तुलनामा नेपालको धान उत्पादनमा २०१८ मा १.५ प्रतिशतले कमी आउने उल्लेख गरेको छ ।

२०१८ मा नेपालको औद्योगिक क्षेत्रको वृद्धिदर भने ६.४ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । सेवा क्षेत्रको वृद्धिदर ५.५ प्रतिशत हुने अनुमान सार्वजनिक गरिएको छ ।

स्थानीय सरकार प्रदेश सरकारहरु खर्चमा बृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा भने बढ्न सक्ने एडीबीको आँकलन छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष कोदो र मकै जस्ता वर्षे बालीको उत्पादन बढ्ने एडीबीले अनुमान गरेको छ । 

 

प्रतिकृया दिनुहोस