काठमाडौंका पत्रकार नआउँदा पत्रकार मञ्च झापामा लफडा

Jhapa patrkar munch

दमक । प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकार नेताहरुको लफडाले पत्रकार मञ्च झापाको निर्वाचन स्थगित भएको छ ।

आइतवार मञ्चको सम्पन्न अधिवेशनबाट आगामी नेतृत्वका लागि आइतबारदेखि निर्वाचन कार्यक्रम सुरू गरिएको थियो । तर, मञ्चका नेतृत्वको टकरावले निर्वाचन समितिले अनिश्चित कालका लागि निर्वाचन प्रक्रिया नै रोको छ । यसलाई कतिपयले सीमित पत्रकार संगठनको दवावमा परेर निर्वाचन समितिले निर्वाचन प्रक्रिया रोकेको आरोप पनि लगाएका छन् ।

गञ्जबहादुर दाहाल संयोजक रहेको निर्वाचन समितिमा डण्डीराज घिमिरे र कमन देवान सदस्य छन् ।

प्रेस यूनियन सहितका संगठनहरुबाट विष्णु सुब्बा र प्रेस चौतारी र प्रेस सेन्टरबाट कृष्ण कार्की नेतृत्वको दावेदार हुन् । तर, निर्वाचन समितिले निर्वाचन सहजतापूर्वक सम्पन्न गर्नुको सट्टा निर्वाचन प्रक्रिया नै रोकेकोमा नेपाल प्रेस यूनियन, संघीय प्रेस फोरम र संघीय पत्रकार यूनियनले आपत्ति जनाएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरको प्रलोभनमा परी निर्वाचन समितिले जवरजस्ती निर्वाचन सारेको उनीहरुको आरोप छ । बहिष्कारमा उत्रिएका संगठनहरुले संयुक्त रुपमा आफ्ना मागसहित निर्वाचन समितिका संयोजक दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । प्रेस चौतारी र सेन्टरले काठमाडौंमा रहेका आफ्ना सदस्य सोमबार हुने निर्वाचनमा सहभागी हुन नसक्ने भएपछि निर्वाचन सार्न समितिलाई लिखित रूपमा दबाव दिएका थिए ।

प्रेस यूनियनका माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष तथा पत्रकार मञ्च दमकका अध्यक्षका उम्मेदवार समेत रहेका विष्णु सुब्बाले निर्वाचन समितिले कुनै संगठनको प्रभावमा परेर जारी निर्वाचन कार्यक्रम अवरुद्ध गरिनु आपत्तिजनक भएको बताए । उनले निर्वाचन समितिको वैधानिकता समाप्त भएकाले त्यसले गर्ने निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रममा आफनो संगठनको सहभागी नहुने बताए ।

निर्वाचन समितिले सोमबार विहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवार मनोनयनसहित निर्वाचन प्रक्रिया अघि बढाउने कार्यतातिका बनाइएको थियो । तर, निर्वाचन समितिले सोमबार विज्ञप्ति प्रकाशित गर्दै संगठनहरुबीच सहमति नजुटेकाले अर्को सूचना नआएसम्म निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ ।

एक दशकदेखि क्रियाशील मञ्चमा माईपश्चिममा ५८ जना पत्रकार सदस्य छन् ।

प्रतिकृया दिनुहोस