बागलुङ महोत्सव जारी प्रदर्शनीले तानिए दर्शक

Baglung

बागलुङ । बागलुङ महोत्सवमा जारी तस्बिर प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।

दैनिक सयौँ दर्शकले २० को टिकट काटेर प्रदर्शनी अवलोकन गरिरहेका छन् । चार नं प्रदेश स्तरको प्रदर्शनीमा लुम्बिनीदेखि कर्णालीसम्मको विविधता झल्कने करिब १ सय वटा तस्बिर राखिएको प्रदर्शनी संयोजक अर्जुन चोखालले बताए ।

बागलुङका दश स्थानीय तहको कृषि, पर्यटन, पशुपालन, घरेलु उत्पादन, जीवनशैली, समाज र मनोरम प्राकृतिकस्थलका आकर्षक तस्बिर समेत प्रदर्शनीमा छन् ।

धौलागिरि क्षेत्रका तस्बिर पत्रकारले खिचेका पोखरा, लुम्बिनी, मुस्ताङ, पर्वत, गुल्मी, म्याग्दी, रुकुम, मुगु र डोल्पासम्म तस्बिर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीले धौलागिरि र आसपासको क्षेत्रको पहिचान झल्काएको तस्बिर पत्रकार आरक अदिप्त गिरीले बताए । प्रदर्शनीमा अधिकांश पत्रकार गिरीले खिचेका तस्बिर छन् । ‘समाज र जीवनशैली बुझ्न तस्बिर प्रदर्शनीले सघाउँछ, नयाँ पुस्तालाई पनि यसमा आकर्षित गर्नु जरुरी छ ।’

यस्ता प्रदर्शनीले फोटोपत्रकारलगायत क्यामेराम्यानलाई पनि उत्प्रेरित गर्ने उनको भनाइ छ । गिरीसँगै फोटो पत्रकार मञ्जुल शाक्य, किरण आचार्य, राम थापा ‘अविरल’, प्रकाश बराल, नरेश कँडेललगायतका तस्बिर प्रदर्शनीमा छ । पुग्न नपाए पनि सुनेका ठाउँको वास्तविक तस्बिर प्रदर्शनीमा हेर्न पाउँदा खुशी लागेको अवलोकनकर्ता बागलुङ नगरपालिका–२ कि कुमारी पौडेलले प्रतिक्रिया दिइन । उनले पर्यटकीय क्षेत्रका तस्बिरले आफूलाई बढी आकर्षित गरेको बताइन ।

मुगुको राराताल, मनाङको तिलिचो ताल, उपल्लो मुस्ताङलगायतका प्राकृतिक सम्पदाका तस्बिरले पनि अवलोकनकर्तालाई लोभ्याएको छ । ‘संस्कृतिलाई जीवन्तता दिन तस्बिर प्रदर्शनी आयोजना गरिएको हो’ संयोजक चोखालले भने, ‘सिर्जनशील काम भएकाले यसको महत्व बेग्लै छ ।’तस्बिर प्रदर्शनीले मुख्य गरी पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले लिएको छ । यही पुस २३ गतेसम्म चल्ने महोत्सव अवधिभर दसौँ हजारले प्रदर्शनीको अवलोकन गर्ने अनुमान छ ।

मन परेको तस्बिर खरिद गर्न पाइनेसमेत व्यवस्था छ । महोत्सव स्थल धौलागिरि बहुमखी क्याम्पसको ३ नं हलमा तस्बिर प्रदर्शनी भइरहेको छ । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनीसमेत राखिएको छ ।

महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबल, छेलो फाल्ने, नृत्य, रमाइलो मेलालगायतका मनोरञ्जनात्मक कार्यक्रम हुँदै आएको छ । मेला सञ्चालन गर्न करिब ९० लाख खर्च हुने र एक करोड जति आम्दानी हुने आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० र विद्यार्थी सहुलियतमा ४० को टिकट व्यवस्था गरिएको छ । दश दिनसम्म चल्ने महोत्सवमा करिब र १० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस