झलनाथ खनाल भन्छन्, एमाले, माओवादी र समाजवादी एकता गरौं

Jhalanath khanal

काठमाडौं । नेपालका कम्युसनष्ट पार्टीहरु छिन्नभिन्न भइरहेका बेला बेलाबेला बाम उकताको कुरा उठ्ने गरेको छ । यद्यपि नेपालका बाम घटकहरु भने आफ्नै तालमा हिडिरहेका छन् । यही बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले फुटेका वामपन्थी दलबीच एकताको पहल सुरु नगरे मुलुकको समृद्धि हुनै नसक्ने दाबी गरेका छन् ।

कम्युनिस्ट घटक मिलेपछि नै विगतमा ठूल–ठूला राजनीतिक परिवर्तन भएको उनको तर्क छ । शुक्रबार ललितपुरमा पत्रकार अमृतनाथ तिमल्सिनाको ‘समृद्धि सरोकार’ पुस्तक लोकार्पण गर्दै खनालले नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने बताए ।

‘यो संविधानका आधारमा कसैले बहुमत ल्याउन सक्दैन भन्नेहरुलाई विगतमै दुईवटा वामपन्थी पार्टी मिलेर लड्दा करिब दुईतिहाई मत त जनताले दिएका होइनन् र ?, एउटै पार्टी पनि बन्यो, तर, त्यो असाधारण शक्ति भएको दुईतिहाईको सरकार हामीलाई पचेन’ उनले भने, ‘त्यतिबेला संसद विघटन भइहाल्यो, दुईतिहाई बहुमत आउनु भनेको हाम्रा निम्ति बढी भयो अनि विघटन गरिहाल्यौं ।’

कार्यक्रममा उपस्थित माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र एमालेकी केन्द्रीय सदस्य सुनिता बरालसँग खनालले तीन घटकको एकताको प्रक्रिया सुरु गर्न आग्रह गरे । ‘यो कार्यक्रममा हामी विभिन्न वामपन्थी पार्टीका केन्द्रीय नेताहरू उपस्थित छौँ, यो राम्रो सुखद् संयोग हो,’ खनालले भने, ‘यो देशलाई साच्चिकै अग्रगतिमा लैजाने हो भने मिल्नुपर्छ। दक्षिणपन्थी बाटोबाट देश अगाडि बढ्दैन ।’

‘यो देशलाई अगाडि बढाउने हो भने प्रगतिशील बाटोबाट मात्र सम्भव छ । त्यसका लागि केही कार्यक्रम अघि सार्नुपर्छ, कार्यक्रम कार्यान्वयन गर्न पहिला हामी मिल्नुपर्छ’, खनालले भने, ‘नेपालको प्रमुख राजनीतिक अन्तरविरोध पहिचान गरेर अगाडि जानको लागि वामपन्थी एकता आवश्यक छ । ‘के वामपन्थी हामी एक अर्काका सत्रु हौँ, वैचारिक मतभिन्नतालाई एकै ठाउँमा बसेर मिलाउन सकिन्छ ।’

नेता खनालले एमालेको चियापानमा माधव नेपाल नगएको प्रसङ्ग उप्काए । ‘यहाँ विवाद हुने वित्तिकै पानी बाराबार१ चिया खान आइजो भन्दा पनि हामी नजानेरु त्यो खालको असंस्कृतिबाट हामी मुक्त हुनुपर्छ।’

‘हाम्रोमा चिया खुवाउने संस्कृति माक्सवाद जन्मनुभन्दा अगाडिदेखि चलेको छ। अब साझा आधार खोजौं, वामपन्थी आजको आवश्यकता हो, वैचारिक मतभेदलाई क्रमिक रुपले साँघुरो पार्दै लैजाऊ र यही सन्देश लिएर जाऊ,’ खनालले आह्वान गर्दै भने ।

उनले देशमा पछिल्ला दिन केही गतिविधि भइरहेको बताए । यो देशलाई परिवर्तन गर्नसक्ने ताकत वामपन्थीहरूसँग मात्र भएको उनले जिकिर गरे । अहिले भोगिरहेका समस्या समाधान गर्न सकिने खनालको भनाइ छ ।

प्रतिकृया दिनुहोस