बझाङका भुकम्प पीडितलाई सरकारले प्रति परिवार २ लाख दिने, घर पनि बनाइदिने

Prachanda bajhang

बझाङ । सरकारले बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

बझाङकोचैनपुरस्थित जिल्ला प्रशासन कार्यलयमा भएको अन्तरक्रियाका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिए । उनले भूकम्पको क्षति अवलोकनपछि उनले राहत, पुनःर्स्थापना र पुनःर्निर्माणका लागि कार्यक्रम घोषणा गरेका हुन् ।

यही मंगलबार पटक पटकको भूकम्पबाट ठूलो क्षति ब्यहोरेको बझाङमा पुनः र्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताएका छन् । उनले भूकम्पबाट कहाँ, के, कति क्षति भएको होरु एकिन गरेर सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रबलीकरण गर्नुपर्ने वा पुनस्र्निमाण गर्नुपर्ने काम अघि बढाइने उनले बताए ।

उनले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने बताए । भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि उनले बताए ।

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको पनि दाहालले बताए । थप सामग्री आवश्यक परे तीनै तहका सरकारको समन्वयमा मिलाइने उनले बताए ।

सम्बोधनका क्रममा उनले भूकम्पमा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए । भूकम्पले निम्त्याएको पहिरोमा मृतकप्रति श्रद्धाञ्जली दिँदै उनले मृतक परिवारलाई तत्काल २ लाख सहयोग दिने पनि बताए ।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुनःनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई अघि बढाइने बताए । सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको मूल्यांकन गरी यथाशीघ्र पुनः निर्माण थालिने दाहालले बताए।

प्रतिकृया दिनुहोस