पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

Khemraj bhatta mayalu

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए ।

उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन् । क्यान्सर रोगबाट पीडित खेमराजलाई वीर अस्पतालमा केही हप्ता अघि चौथोपटक किमो दिइएको थियो । प्रजातन्त्र र गणतन्त्र प्राप्तिको लागि स्वर्गीय मायालुको योगदान स्मरणीय छ ।

डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

२०३० सालतिर स्वर्गीय रामराजा प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा गठन गर्नुअघि उनको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस निकट थियो । उनी मोर्चाबाट २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्किएका थिए ।

२०५६ सालमा बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा उनी निर्वाचित भएका थिए । २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए । २०७० सालमा भने उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । खेमराज पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा पटक–पटक जेलसमेत परेका थिए ।

 

प्रतिकृया दिनुहोस