दुई समुदायबीच झडप भएपछि मलंगवामा फेरि कर्फ्यु, स्थिति सामान्य

Malangwa karfyu

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ ।

गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।

यसअघि कृष्णष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही वस्तीमा दुबै समुदायबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको छ ।

कर्फ्यु लगाइएको सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यहीबेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो । त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्फ्यु आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको छ । बजार सुनसान छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितीका कारण स्थिती सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ ।

 

 

प्रतिकृया दिनुहोस