८ दिन चलेको कांग्रेस बैठकमा १५ बुँदे प्रस्ताव, १२ जनाको कारबाही फुकुवा

Congress cc meeting

काठमाडौं । आठ दिनसम्म चलेको नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो ।

जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा भएको छ । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको हो ।

बर्दिबासका वडाध्यक्षहरु रामसवारत यादव, विजय महतो, विन्देश्वर यादवको पनि कारबाही फुकुवा भएको छ । यस्तै बर्दिबासका नेताहरु अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहको कारबाही फुकुवा भएको छ ।

त्यस्तै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने भएको छ । कांग्रेसले विधान संशोधनसहित कार्यका लागि नीति अधिवेशन भने नगर्ने भएको छ । यो बैठकमा पनि नेताहरुले नीति अधिवेशनबारे प्रश्न उठाएका थिए ।

कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ ।

प्रतिकृया दिनुहोस