कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह

कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसेको पहिरोले मादी -१ खिलाङमा दुई र मादी -६ तप्राङमा चारवटा घरमा क्षति पुगेको हो ।
खिलाङमा घरमाथिबाट खसेको पहिरोले दुई घर सामान्य क्षति भएको र दुई वटा भैंसी पुरिएर मरेको मादी -१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए । मादी ६ भेडीखर्कमा ३ वटा र सयपत्री टोलमा चार वटा घरमा क्षति पुगेको मादी -६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
भेडीखर्कका स्थानीय वीरबहादुर रानाको दुई वटा, सोही ठाउँका सन्तबहादुर राना र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा क्षति पुगेको हो । घटनामा मानवीय क्षति भएको छैन । चार वटै घरमा बस्न मिल्ने अवस्था छैन । कुनैको जगबाटै गएको छ । कुनै पुरिएको छ ।
यता, तप्राङमा चाहिँ यसअघि पहिरो नगएको बस्तीमै पहिरो जाँदा ३ वटा घर बस्नै नमिल्ने भएका छन् । रातिको अविरल वर्षापछि जमिन गल्दा पहिरो आएको र स्थानीय वीरबहादुर रानाको २ वटा घर, गौबहादुर रानाको एउटा घरसहित गोठ पुरिएको स्थानीय सुजन देवकोटाले जानकारी दिए ।
मानवीय क्षति नभए पनि बस्ती नै जोखिममा परेको र स्थानीय विस्थापित हुनुपरेको उनले बताए । गाउँपालिका अध्यक्ष देवीजंग गुरुङका अनुसार प्रकोपबाट सुरक्षित रहन पालिकाले नागरिकसँग आग्रह गरेको छ ।
गाउँपालिकाले जोखिमपूर्ण क्षेत्रमा नबस्न पनि स्थानीयलाई सचेत गराएको छ । उद्दार र राहतका कार्यक्रम पनि सँगै अगाडी बढाउने गरि पालिका तयार रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस