सुदूरपश्चिममा प्रदेश संसदलाई ५ करोड दिने सहमति, बजेट पास हुने

Sudurpaschim pradesh sava

धनगढी । सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन् ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो ।

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनकै दलहरुले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने बताएका थिए । त्यस विषयमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकले प्रदेशसभा सदस्यहरुले सिफारिस गरेका योजनाहरु पनि बजेटमा समावेश गर्ने सहमति गरेको छ ।

सत्ता गठबन्धनको बैठकपछि नेताहरु आआफ्नो संसदीय दलमा छलफल गर्न बाहिरिएका छन् । सत्तारुढ गठबन्धनमा सहमति भएपछि सकभर आजै र नभए आइतबारसम्म बजेट पारित गर्ने तयारी भएको छ ।

यस विषयमा लिखित सहमति गर्ने तयारी छ । गठबन्धनका एक नेताका अनुसार बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका थिए । जसमा अरु दलका नेताहरुले सहमति जनाएका हुन् ।

बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल, प्रमुख सचेतक मानबहादुर धामी लगायतका सांसद थिए । नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी, खुसीराम चौधरी लगायतका सांसद थिए । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल थिए । उनीहरु तीनै दल सत्तारुढ घटक हुन् । यसअघि उनीहरुले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय नै गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...