आज यी प्रदेशहरुमा वर्षा हुने, पूर्वमा आज पनि भारी वर्षा हुने

Mausam news

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । खासगरी आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू९भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । कोशी प्रदेशको केही स्थानहरुमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस