बालेनलाई चलचित्रकर्मीको साथ, सोमबारदेखि काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शन नहुने

Balen  adipurush

काठमाडौं । काठमाडौं महानगरपालिकाले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित अंश भारतीय फिल्मबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि हलवालाहरुले पनि सोमबारबाट प्रदर्शन रोक्ने भएका छन् । हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाको निम्ति सोमबारदेखि ुआदिपुरुषु को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिए ।

महानगरपालिका स्रोतका अनुसार आइतबार हलहरूमा नगर प्रहरी पुगेर भोलिबाट चलचित्र नचलाउन निर्देशन दिएको छ । मेयर बालेन्द्र शाहले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गरेका थिए । नेपालमा भने उक्त संवाद हटाएर चलचित्र चलिरहेको छ ।

मेयर शाहले सामाजिक सञ्जलामार्फत लेखेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ,’ उनले भनेका छन् ।

यसअघि विवादित संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । गत बिहीबार फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाई फिल्मको जाँचपास अनुमतिपत्र लिएका थिए ।

मेयर शाहले नेपालमा मात्र नभई भारतमा समेत उक्त संवाद नसच्याए उपत्यकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै गत शुक्रबार फेसबुकमा लेखेपछि ‘आदिपुरुष’ को विवाद चर्किएको थियो । त्यसैले सुरक्षाको कारण देखाउँदै चलचित्र संघले शुक्रबारको बिहानीको सो पनि रद्द गरेको थियो ।

प्रतिकृया दिनुहोस