टोपबहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बित, अर्को चुनाव भने नहुने

Top bahadur rayamajhi

काठमाडौं । एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ ।

फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० देखि फरार उनलाई प्रहरीले वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट प्रक्राउ गरेको थियो ।रायमाझीसहित १६ जना अभियुक्तलाई अदालतले थुनामा पठाउने आदेश दिइसकेको छ ।

उनी पक्राउ परेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ १ गते संसद सचिवलायमा पठाएको थियो । तर त्यसबेला उनी निलम्बनमा परेका थिएनन् । तर, शुक्रबार जिल्ला अदालत काठमाडौंबाट उनलाई थुनामा पठाउने आदेश भएसँगै सांसदबाट निलम्बित भएका हुन् ।

फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवासुविधा समेत रोकिने प्रावधान छ । यद्यपि निलम्बित सांसदको चुनाव क्षेत्रमा अर्को चुनाव भने हुँदैन । ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ,’ उपधारा ३ मा लेखिएको छ ।

यस्तै ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परि कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ,’ ४ मा उल्लेख छ ।

यसअघि प्रहरीले पक्राउ गर्ने वित्तिकै सांसद पदबाट स्वतः निलम्बन हुने व्यवस्था थियो। तर, दलहरुले त्यस विषयमा संशोधन गरेर अदालतको आदेशपछि मात्रै सांसद निलम्बन हुने व्यवस्था राखेका छन् ।

प्रतिकृया दिनुहोस