माधवकुमार नेपाल भन्छन्, बजेट यथास्थितिमा पास भए सरकार ढल्छ

Madhavkumar nepal

काठमाडौं । संसदमा बजेट माथि छलफल चलिरहेका बेला सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताएका हुन् ।

अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ ।

‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ,’ नेपालले भने, ‘सरकार दुर्घटनामा जान्छ ।’ उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता देखाउनुपर्नेमा जोड दिए ।

‘तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ,’ नेपालले भने, ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ। यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ ।’

यो सरकारमा नेकपा (एकीकृत समाजवादी) को भागमा दुई मन्त्रालय छन् । सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस