अझै केही दिन नघट्ने, ६ स्थानको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

Mausam mahaskha

काठमाडौं । देशका अधिकांश स्थानमा जारी गर्मी अझै केही दिन नघट्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कम्तीमा ३ दिन खासै ठूलो वर्षाको सम्भावना देखिएको छैन । बादल नलाग्दा र वर्षा नहुँदा दिनभर घाम लाग्ने भएकाले तापक्रम घट्न पाउँदैन ।

विभागका अनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले अघिल्लो उच्च रेकर्ड तोडेका छन् । मौसम महाशाखाले आफ्नो स्टेसन राखेका ६ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

१३ स्टेशनहरुले यो वर्षको जुन महिनाको उच्च रेकर्ड तोडेका छन् । जसमा नवलपुरको दुम्कौलीको तापक्रम देशकै उच्च रेकर्ड गरिएको छ । दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जहाँको तापक्रम यसअघि सन् १९७९ मा सबैभन्दा धेरै ४३.७ डिग्रीसेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ । यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रमसमेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ । आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमसमेत २० डिग्रीमा उक्लिएको छ ।

 

प्रतिकृया दिनुहोस