विरामीको कुरुवा बनेर धनकुटा अस्पताल कुर्दै भोजपुर षडानन्दकी उपमेयर प्रमिला राई

Birami sag upameyar

धनकुटा । भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर प्रमिला राई दुई दिनदेखि धनकुटा अस्पतालमा भेटिइन् । उनी आफैँ विरामी नभई ६ जना पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार गर्न विरामी कुरुवा भएर धनकुटा आएकी हुन् ।

ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्या अहिले पनि विकराल रुपमा पाएपछि आफूले यसको उपचारको खोजी गरेको उनको भनाइ छ । यसबारेमा स्वयम महिलाहरु जानकार भएपनि लाजको कारणले उपचार गराउन गएको पाइँदैन । यस्ता महिलाहरुको साहरा बनेर उपमेयर राई अहिले विरामीको उपचारमा तल्लिन छिन् ।

गत स्थानीय तहको निर्वाचनमा मत माग्न गाउँ गाउँ जाँदा महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक मात्रामा पाएको र त्यसबेलादेखि नै कसरी यो समस्याको समाधानमा लागेको राईले बताइन् । त्यसपछि गत बैशाख ६ गतेदेखि १० दिनसम्म वडा वडामा नगरपालिकाले शिविर सञ्चालन गरेको राईले बताइन् ।

शिविरमा लाभ लिएका १ हजार ३ सय ४४ जना मध्ये २ सय ८४ जनामा पाठेघर खस्ने समस्या भेटिएको थियो । त्यसमध्ये २ सय १७ जनाको रिङ प्रेसरी लगाएर उपचार गरिएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले लिएर आएको उनले बताइन् । उनले नगरपालिकाको निति तथा कार्यक्रममा आफूले पाठेघर खस्ने महिलाको उपचारको लागि व्यवस्था गरेको बताइन् । उनले आफ्नो कार्यकालमा यो समस्या समाधान गर्नेतर्फ आफू लागि परेको उनको भनाइ छ ।

धनकुटा अस्पतालमा उपचारमा आएकाहरुमा ७३ वर्षसम्मका महिला समेत रहेका छन् । ७३ वर्षकी महिलाका ४ सन्तान रहेकोमा दोस्रो बच्चा भएपछि देखि यो समस्या देखिएको राईले बताइन् । तर, परम्परागत सोचाइका कारण समस्या भएको राईको भनाइ छ ।

पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलालाई जाने–आउने खर्चसहित उपचारको व्यवस्था षडानन्द नगरपालिकाले मिलाएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले नगरपालिकाले महिलाको प्रजनन अंग उपचार शिर्षकमा बजेट विनियोजन गरेको सोही अनुसार उपचारको व्यवस्था गरेको बताए ।

पीडा सहँदै रोग लुकाएर बसेका महिला स्वास्थ्य सचेतनाका कारण पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । परम्परागत सोच र मान्यतामा हुर्केका कारण रोगलाई लुकाएहरुमा वृद्धावस्थामा बढी समस्या देखिएको छ । उपमेयरको सक्रियतामा नगरपालिकाले उपचार गरिदिएपछि महिलाहरु पनि खुसी भएका छन् ।

धनकुटा अस्पतालमा उपमेयर राईसँग उपचार गर्न आएकी पेम्बिनी शेर्पाले समस्याका कारण धेरै लामोसमयदेखि समस्या भोग्दै आएको र अहिले उपचार पाउँदा निकै खुसी लागेको बताइन् । उनले आगामी दिनमा सहज जिवन बन्नेमा आफू ढुक्क रहेको बताइन् ।

यस्तै उपचार गर्न धनकुटा नै आएकी अर्की विरामी रेनुका अधिकारीले उपमेयरको सक्रियतामा नगरपालिकाले सम्पूर्ण खर्च व्यवस्थापन गरेर उपचार गरिदिँदा खुसी लागेको बताइन् । उनले आफूहरुमा भएको समस्या थाहा नपाएको भएपनि उपमेयरको सक्रियता निको हुने भएको बताउँदै निकै खुसी लागेको बताइन् ।

स्वास्थ्यकर्मीका अनुसार पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूहका महिला पीडित छन् । पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा जीवन कष्टमय र पीडादायी हुने गरेको स्वास्थ्यकमीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस