१० वर्षमा नै फेरियो बागलुङको कुश्मिसेरा बजार

Kushmi shera

ढोरपाटन । एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिसेरा बजारमा स–साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एक/दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठूला–ठूला भवन ठडिएका छन् । कतिपय ठाउँमा धमाधम भवन निर्माण भइरहेका छन् ।

पहिलेको गाउँ कुश्मिसेरा अहिले बजारमा रुपान्तरण भएको छ । सडक सञ्जालको विस्तारसँगै यहाँ ठूलो परिवर्तन आएको छ । कुश्मिसेरा दक्षिण बागलुङको ठूलो व्यापारिक केन्द्र हो । एक दशक अगाडिसम्म कुश्मिसेरा बजारका व्यापारीलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । जब गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले, तब कुश्मिसेरा बजारमा व्यापार घट्दै गयो ।

जैमिनी नगरपालिकाको केन्द्रसमेत रहेको कुश्मिसेरा विसं २०६२ मै सडक सञ्जालले जोडिएको थियो । सडक सञ्जालले जोडिएको लामो समयपछि यातायातका साधन सञ्चालन भएको थियो । त्यसभन्दा पहिले पर्वतको कुश्मा बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य सामान बोकेरै उपभोग गर्दै आएका थिए । सडकले जोडिएको १८ वर्षपछि कुश्मिसेरामा परिवर्तन आएको हो ।

पहिले साँघुरा रहेका सडक फराकिला बन्दै छन् भने बजार क्षेत्रमा ढल व्यवस्थापनलगायत काम पनि भइरहेका छन् । बजार क्षेत्रका खाली जग्गामा पनि अहिले भवन निर्माण भइरहेका छन् । तीब्ररुपमा बजारीकरण हुन थालेपछि गाउँबाट पनि यहाँ बसाइँ सर्ने क्रम बढेको छ ।


नगरपालिका स्थापना भएपछि धेरै सेवा सुविधा पनि थपिँदै गएका छन् । गाउँ–गाउँमा पुग्ने सडकको मुख्य केन्द्र कुश्मिसेरा पर्ने हुँदा समय–समयमा निकै चहलपहलसमेत हुने गर्दछ । पछिल्लो १० वर्षमा कुश्मिसेरा धेरै बदलिएको स्थानीय क्याप्टेन पदमबहादुर श्रीसले बताए । उनले पहिले यहाँ स–साना दोकान मात्रै रहेकामा अहिले ठूला–ठूला पसल र होटलसमेत खुलेको बताए ।

पहिले कुश्मिेराको माथिल्लो क्षेत्रमा मात्रै सानो बजार रहेकामा अहिले तल्लो क्षेत्रमा पनि बजार विस्तार भइरहेको छ । डेढदशक अगाडिसम्म सदरमुकाम आउन जान निकै समस्या हुने गरेकामा अहिले साढे एक घण्टामै बागलुङ पुग्न सकिन्छ। केही वर्षयता यसक्षेत्रमा तीव्ररूपमा विकासले गति लिइरहेको र सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि परिवर्तन हुँदै गएको क्याप्टेन श्रीसले बताए ।

स्थानीयवासी देवेन्द्र चालिसेले बजार तीव्ररूपमा विस्तार भए पनि व्यापार खस्किँदै गएको बताए । पहिले सडक कमजोर हुँदा ठूला गाडी नचल्ने गरेकामा अहिले ठूला–ठूला बस पनि बजार क्षेत्रबाट चल्ने गरेको र गाउँबाट दिनदिनै मान्छे बजार झर्न थालेकाले चपहलपहल बढिरहेको उनको भनाइ थियो ।

स्थानीय सरकार आएपछि बजार क्षेत्रमा ठूलो परिवर्तन भएको छ । पहिले खानेपानी अभाव हुने गरेको सडक अव्यवस्थित हुँदा स्थानीयवासीले समस्या भोग्नु परेकामा अहिले सबै समस्या समाधान हुँदै गएको छ ।

‘नगरपालिका बनेपछि बजारमा धेरै सुधार भएको छ, पहिला कच्ची सडक थियो, गाडी गुढ्दा धुलोले पसल नै ढाक्ने गर्थ्यो, ढल व्यवस्थापन भएको थिएन’, चालिसेले भने, ‘अहिले त्यो समस्या सबै हटेको छ, बजार पनि राम्रो बन्दै गएको छ, सडक पनि फराकिलो र धुलो नउड्ने भएका छन्, अहिले व्यापार अलि कम हुन थालेको छ, पहिले गाउँमा गाडीका गाडी सामान लैजान्थे अहिले सामान लैजाने सबै बजार झरे त्यहीँ भएर व्यापार घटेको हो ।’

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पछिल्लो एक दशकयता कुश्मिसेरा बजार निकै परिवर्तन भएको बताए । उनले दिनदिनै बजार विस्तार भइरहेकाले यसलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको बताए । बजार क्षेत्रको सुरक्षाका लागि सिसी क्यामराको व्यवस्था, सडक बत्ती जडान, बजार क्षेत्रमा अव्यवस्थित तारको व्यवस्थापन र घर बनाउन मापदण्डसमेत बनाइएको उपप्रमुख शर्माको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...