सोलुखुम्बुका कामीरिताको सगरमाथा पुग्ने कीर्तिमान कायम, एक सातामै २ पटक चुचुरोमा

Kamarita sherpa

काठमाडौं । सोलुखुम्बुका कामीरिता शेर्पा एक साता नपुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका छन् ।

जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका ५४ वर्षीय शेर्पाले मंगलबार बिहान दोस्रोपटक आरोहण गरेका हुन् । आज २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।

गत बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए । तर, उनकै २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।

सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ । कामीरिताले यसअघि सन् २००९, २०१०, २०१३ र २०१९ मा पनि एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए ।

सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस