पुलमुनी अनसन बसेका सांसदले यसरी आठौं दिनमा आमरण अनशन तोडे

Bardiya ansan

बर्दिया । सांसद सञ्जयकुमार गौतम र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबीच जब्दीघाटमा नयाँ पुल निर्माणलगायत १५ बुँदे सहमतिपछि आमरण अनशन तोडेका छन् । शनिबार अनशनस्थल जब्दीघाट पुलमुनि मन्त्री ज्वाला र सांसद गौतमबीच सम्झौता भएपछि जुस खुवाएर आमरण अनशन तोडेका हुन् ।

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल मुनि गौतमले अनसन सुरु गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३ः३० बजेबाट गौतम अनसन स्थगन गरेका छन् ।

जेठ २० गतेसम्म बाढीले बगाएको पुलको संरचना हटाइने सहमतिपत्रमा उल्लेख छ । यसैगरी भारतसँग भएको सँझौताअनुसार गुलरिया मुर्तिहा नाका सञ्चालन प्रक्रिया अघि बढाउने, भुरीगाउँ तेलपानी सडक निर्माण गरिने, बबई र कर्णाली नदी नियन्त्रणका लागि पर्याप्त बजेटका लागि पहल गर्ने, बबई सिंचाइ आयोजना समयमै सम्पन्न गर्ने, वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणलगायतका मागमा प्रक्रियागत रुपमा गर्ने सहमति भएको छ ।

आठौं दिनसम्म अनशन बसेका गौतमका प्रमुख मागमध्ये जब्दीघाट आसपास नयाँ पुल निर्माणको टेन्डर जेठ महिनाभित्र हुने मन्त्री ज्वालाले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य र पूर्वसिंचाइमन्त्री गौतम बबई नदीस्थित जब्दीघाटमा भत्किएको पुलमुनि आमरण अनशनमा बसेका थिए । सम्झौतामा सहमतिपछि सांसद गौतमको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस