चितवन २ मा ६९ भन्दा बढी प्रतिशत मतसहित रवि लामिछाने विजयी

Rabi bijayi

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् ।

उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । कांग्रेस र एमालेले भने पहिलेकै मत समेत जोगाउन सकेनन् । दुवै पार्टीले लज्जास्पद हार बेहोरेका छन् ।

लामिछाने आफ्नै कारणले खाली भएको निर्वाचन क्षेत्रमा पुनः विजयी हुने पहिलो उम्मेदवार बनेका छन् । २०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि निर्वाचितको मृत्यु वा अर्को पदमा निर्वाचित भएपछि सम्बन्धित निर्वाचन क्षेत्र खाली भएकाले उपनिर्वाचन हुँदै आएका थिए । त्यही कारण आम निर्वाचनमा विजयी उम्मेदवार उपनिर्वाचनमा समेत विजयी भएको रेकर्ड निर्माण हुन सकेको थिएन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनका गराएको हो । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।

यो विजयका साथ लामिछानेले आफ्नो पुरानो चुनावी रेकर्डलाई थप मजबुत समेत बनाएका मात्र छैनन्, नेपालको इतिहासमा सर्वाधिक मतान्तरले विजयी हुने उम्मेदवारको नयाँ रेकर्ड समेत कायम गरेका छन् ।

 

प्रतिकृया दिनुहोस