दुर्घटनाबाट जोगियो फ्लाई दुबइको जहाज, असामान्य झिल्कासहित दुवईतर्फ लाग्यो

Fly dubai plane aagolagi

काठमाडौं । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिए पनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् ।

दूबई सरकारको मिडिया कार्यालयले ट्वीट गर्दै विमानले सामान्य अवस्थामा उडान गरिरहेको बताएको छ । उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा ९ः५८ बजे यो विमान कपिलवस्तुको आकाशमा देखिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको बताए । अहिले सामान्य अवस्थामा फ्लाइ दुबईको जहाज गन्तव्यतर्फ गइसकेको उनले जानकारी दिए । पाइलटले अर्काे इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिकृया दिनुहोस