अन्ततः कुमारी आमा निहारिका र शिवराज श्रेष्ठबीच मिलापत्र, श्रीमान श्रीमति भएर बस्ने

Niharika shivaraj

काठमाडौं । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूतले अन्ततः शिवराज श्रेष्ठलाई आफ्नो पति भन्दै मिलापत्र गरेकी छिन् । सोमबार धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै निहारिकाले मिलापत्र गरेकी हुन् ।

जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका छन् । महोत्तरीको जलेश्वर -९ की निहारिका र धनुषाको क्षिरेश्वरनाथ -३ का शिवराजले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् ।

आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् ।

कानुनी हिसावले उमेर नपुगे पनि पत्नीकै रुपमा बस्दै आएको मिलापत्रमा निहारिकाले स्वीकारेकी छन् । अहिले उनीहरुका एक छोरा पनि छन् । २०७७ भदौ ५ गते छोरा बिहान श्रेष्ठको जन्म भएको थियो । यसअघि यी सन्तान शिवराजकै भएको भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गरेकी थिइन् ।

उच्च अदालतको आदेश अनुसार डीएनए गरिएको थियो । शिवराजसँग डीएनए मिलेको थियो । डीएनए मिलेसँगै निहारिका र छोरालाई स्वीकार्न शिवराज तयार भएका हुन् । उनीहरुले शिवराज बेरोजगार भएका कारण परिवारमा विवाद भएको बताउँदै त्यो कुरा सामान्य भएको मिलापत्रमा उल्लेख छ ।

शिवराजले निहारीकालाई पत्नी भएका कारण यातना नदिएको अदालतमा बताएका छन् । शिवराजले निहारीका अंश लिई अलग बसे पनि मान्ने बताएका थिए । मिलापत्रका लागि शिवराज र निहारिका संयुक्त निवेदन लिएर अदालत पुगेका थिए ।

‘हामी वादी प्रतिवादीहरु यतिका दिनसम्म मुद्दा लडी बाझी आयौँ, अब उपरान्त मुद्दा नलडौँ, आपसमा मिलिजाऊँ भनी हामीबीच घरसारैमा मिली जाऔँ भनी मिलीआएको व्यहोरा यो छ कि म वादी तथा नाबालक छोरासमेतलाई इज्जत आमदअनुसार खान लाउन औषधोपचार खर्च, छोराको पढाई लेखाई खर्च तथा पिता र पतिको कर्तव्य निर्वाह गर्नेछु’, मिलापत्रमा उल्लेख छ ।

यसअघि शिवराजविरुद्ध निहारिकाले बलात्कार कसुरमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालतले बलात्कारको कसुरमा शिवराजलाई सफाइ दिने फैसला गरेको थियो । २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो । उच्च अदालतमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ ।

निहारिकाले २०७६ कात्तिक ६ गते शिवराजले जबरजस्तीकरणी गरेको आरोप लगाएकी थिइन् । बलात्कारपछि आफू गर्भवती भएको बताएकी निहारीकाले २०७७ भदौ ५ गते छोरा जन्माएकी थिइन् । शिवराजले भने निहारिका गर्भवती भएको विषयमा आफूलाई थाहा नभएको बताउँदै आएका थिए ।

 

प्रतिकृया दिनुहोस