गृहमन्त्री बनेको ३२ दिनमा रवि लामिछानेले प्रचण्डलाई बुझाए राजीनामा पत्र

Rabi lamichhane

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार उनी गैरनागरिक रहेको ठहर गर्दै सांसदसहितका संवैधानिक पद नरहने आदेश जारी गरेको थियो । यो आदेशसँगै उनले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनी गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै मन्त्रीमा नियुक्त भएका थिए ।

लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भने प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपी जारी गर्न सकिन्छ ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका छन् र त्यसको निस्सा पनि पाइसकेका छन् । त्यो निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएका हुन् ।

सर्वोच्चको आदेशपछि चितवन २ बाट मंसिर ४ गते निर्वाचित उनको सांसद पनि पनि कानुनी रुपमा गएको छ । अब त्यहाँ उपनिर्वाचन गर्नुपर्ने भएको छ ।टेलिभिजन पत्रकारिता छाडेर राजनीतिमा आएका लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिरमा सम्पन्न आमनिर्वाचतमा २० सिट जितेको छ ।

 

प्रतिकृया दिनुहोस