सानेपामा डा. शेखर कोइराला समुहको १ घण्टा धर्ना

Shekhar koirala fraction dharna

काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका हुन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ । सोमबार बसेको गुटको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूह आक्रोसित छ । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ ।

सो समूहले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ । यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउँदा पनि उपेक्षा गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताए । उनले पार्टीभित्र सबैलाई समान अवसर दिनुपर्ने आफूहरुको धारणा रहेको बताए । माग सम्बोधन गर्ने सुनिश्चित भए आफूहरुले पार्टीभित्रको बिद्रोहलाई कम गर्दै लैजाने उनको भनाइ छ ।

उनीहरुले आफूहरुको विषय व्यक्तिका लागि मात्रै नभएर समग्र पार्टीको विषय भएकाले बिहीबारसम्म समानुपातिक सूची सच्चाउने विश्वास व्यक्त गरेका छन् ।

‘हामी पार्टीको विरुद्धमा छैनौं । हामीले पार्टीभित्र न्याय मागेका हौं । अन्याय सहँदैनौं भनेर विरोध गरेका हौं‚’ धर्नामा सहभागी हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने‚ ‘त्यसैले हामी प्ले(कार्ड बोकेर नाराबाजी गर्दैनौं । धर्ना पूर्ण रूपमा मौन छ ।’

यता संस्थापन पक्षले भने सबैको सहमतिमा सर्वसम्मत रुपमा नै समानुपातिक सूची तयार गरेको जनाएको छ । आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस