कोइराला पक्षधरको घेराबन्दीमा परे देउवा, पार्टी कार्यालय छिर्न खोज्दा प्रदर्शन

Congress office ma protest 1

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिएका छन् । सभापति देउवाले आफूनिकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठित कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व नछानेको भन्दै प्रदर्शन गरिएको हो ।

भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै दिउँसो १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन् ।

‘भातृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार,’ भन्ने मागसहित प्रदर्शन गरिएको हो । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस