एमसिसी अनुमोदन गर्नुपर्ने कांग्रेसको निष्कर्ष, गठबन्धनलाई मनाउने प्रयास

Congress meeting

काठमाडौं ।सतारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता गटबन्धनसँगको सल्लाहमै संसदबाट अनुमोदन गराउनुपर्ने निष्कर्ष निकालेको छ ।

१४ औँ महाधिवेशनपछि गठित कार्यसम्पादन समितिको बिहीबार बसेको पहिलो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णयबाट पछि हट्न नसकिने निष्कर्ष निकालेको हो ।

सत्ता गठबन्धनभित्र एमसीसी सम्झौता संसदमा पेश गर्ने वा नगर्ने विषयमै मतभेद भइरहेका बेला कांग्रेसले त्यसलाई अनुमोदन गराउनुपर्ने निर्णय दोहोर्‍याएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरु एमसीसीको पक्षमा उभिएका छन् । एमसीसीबारे धेरै भ्रम फैलाइएको भन्दै नेताहरुले त्यसलाई चिर्न जनताका माझ जानुपर्ने धारणा राखे ।

बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने, ‘एमसीसीबारे हामीले जनतामा गएर सम्झाउनुपर्छ । एमसीसी नेपालका लागि राम्रो हो, अमेरिकी सेनाहरु आउने होइन । यहाँकै नियम कानुन अनुरुप एमसीसीले ५०० मिलियन डलर ग्रान्ट दिएको हो । यो विद्युत र बाटोका लागि हो भनेर हामीले जनमानसमा भन्नुपर्छ ।’

तर पूर्वउपसभापति विजयकुमार गच्छदारले भने एमसीसी साह्रै गिजोलिएको भन्दै हतारमा निर्णय गर्न नहुने बताएका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई सत्तारुढ गठबन्धनलाई मनाउन वा अर्को संसदसम्म पर्खिन सुझाव दिए ।

बैठकमा पार्टीभित्रै एमसीसीबारे भ्रम रहेको भन्दै सभापति देउवाले बोल्न समय दिएपछि पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसी सम्झौता र त्यसका गुण-दोषहरूबारे लामो व्याख्या गरेका थिए । महतलाई सुनेपछि देउवाले एमसीसीबारे फैलाइएका अनावश्यक भ्रम चिर्न नेताहरूलाई आग्रह गरेका थिए ।

कांग्रेसले दुई वर्षअघि नै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मै गरेको एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।

जारी बैठकमा बोल्ने अधिकांश नेताहरूले एमसीसी सम्झौताका विरोधीहरूले त्यसबारे तल्लो तहसम्म भ्रम फैलाएकाले सरकारले ती भ्रमहरू चिरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस