काँग्रेस महाधिवेशन : उपसभापति पदको मतगणना सुरु, ३ ठाउँमा गणना हुँदै

Congress matganana

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

अब दुई उपसभापति पदको मतगणना सुरु भएको र राति १० बजेसम्म परिणाम आइसक्ने अनुमान रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।

मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।

प्रतिकृया दिनुहोस