दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए देउवा

Sher bdr deuwa 29

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो । देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।

तीनै उम्मेदवारको देउवालाई साथ २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका हुन् । दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । मंगलबार राति सवा ११ बजे सुरु भएको मतगणना बुधबार बिहान करिब साढे २ बजे सकिएको थियो ।

यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा २००३ सालमा जन्मिएका देउवा २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । उनले पटक–पटक गरेर ९ वर्ष जेलजीवन बिताए । उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ । २०४८ सालयताका ६ वटै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित भएका छन् । २०४८ मा गृहमन्त्री बनेका उनी त्यसको चार वर्षमै २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

पाँचौं पटक प्रधानमन्त्री चलाइरहेका देउवाको कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरु भएको हो । २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा उनी रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलोपटक कांग्रेसको सभापति बनेका थिए । २०४८ को आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका देउवाले पहिलो पटक २०५७ माघको १० औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

पोखरामा आयोजित उक्त महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई चुनौती दिँदै उनले उम्मेदवारी दिएका थिए । त्यतिबेला कोइरालाले ९ सय ३६ मत ल्याएर जित्दा देउवा ५ सय ७ मतमा सीमित भएका थिए । आन्तरिक कलहका कारण देउवाले २०५९ असारमा पार्टी विभाजन गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे ।

२०६४ असोजमा पार्टी एकीकरण गर्दै ४० प्रतिशत हिस्सासहित वरिष्ठ नेताका हैसियतमा उनी कांग्रेसमा फर्किए । त्यसको तीन वर्षपछि भएको १२ औं महाधिवेशनमा उनले पुनः सभापतिमा उम्मेदवारी दिए । तर सुशील कोइरालासँग पराजित भए । उनको राजनीतिक जीवनमा एकीकृत कांग्रेस पार्टीको सभापति हुने अवसर २०७२ मा मात्र जुर्‍यो । ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा पुगेका उनी रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति भएका थिए ।

देउवाले कोइराला परिवारससँग पौंठेजोरी खेल्दै नेतृत्वमा स्थापित हुने नेताको छवि बनाएका छन् । पार्टीका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा तत्कालीन गिरिजाप्रसाद कोइरालासँग चरम द्वन्द्व हुँदा पार्टीबाट अलग हुनेदेखि प्रधानमन्त्रीबाट राजीनामा दिनेसम्मका अप्रिय निर्णय लिएका थिए ।

२०४८ मा गिरिजाप्रसाद कोइरालाका गृहमन्त्री बनेका देउवाले पार्टीभित्र संघर्ष गर्दै कोइरालाविरोधी जनमत निर्माण गरे । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका देउवा यस पटक कोइराला वंशकै शेखर कोइरालालाई पराजित गर्दै सभापति भएका छन् । १३ औं महाधिवेशनमा कोइराला परिवारका कुनै पनि सदस्य सभापतिमा उम्मेदवार थिएनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...