एमाले अध्यक्ष ओली भन्छन्, एमालेलाई अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन

Kp oli biratnagar

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन् ।

सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन छन् ।

प्रेस चौतरी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको परिस्थितिमा एमालेले प्रधानन्यायाधीशको राजीनामा पनि नमाग्ने र महाभियोगको पक्षमा पनि नउभिने संकेत गरेका हुन् । ‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

‘राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, उनले भने, ‘हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’ उनले अदालत स्वतन्त्र रहनुपर्ने र संविधानअनुसार चल्नुपर्ने बताए ।

अर्को एक प्रसंगमा ओलीले सुदूरपश्चिममा वडा सम्मेलन नभएको विषयमा अभिव्यक्ति दिने उपाध्यक्ष भीम रावलसँग जवाफ माग्ने बताए । उपाध्यक्ष रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा एमालेको वडा अधिवेशन नभएको बताएका थिए ।

सोही विषयमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘एकदुई जनाले के भन्छन्, त्यसको कुनै मतलब भएन, उहाँ (भीम रावल) ले किन त्यस्तो भन्नुभयो, म सोध्छु ।’‘अर्ली इलेक्सन’का सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा ओलीले चुनाव चाहने कि नचाहने भन्ने प्रश्नभन्दा पनि आवश्यकता हो कि होइन भन्ने मुख्य कुरा रहने बताए ।

उनले सरकारको कार्यशैली भद्रगोल रहेको, संसदले कुनै काम गर्न नसकेको भन्दै अहिलेको संसदबाट निकास ननिस्कने धारणासमेत राखे । गठबन्धनको काम सिस्टममा प्रहार गर्ने मात्र भएको उनको भनाइ छ । माधव नेपालप्रति प्रहार संकेत गर्दै उनले सिस्टममाथि प्रहार गर्ने सानो जमात रहेको बताए । उनले यो सरकारको किचलो केही पाकोस् भनेर हेरेको बताए । केही समयअघि मात्र ओलीले एमालेले चाहेमा एक हप्तामा सरकार ढाल्ने बताएका थिए ।

अहिलेको सरकार असफल भएको ओलीको टिप्पणी छ । तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको उनको भनाइ छ । सभामुखप्रति कटाक्ष गर्दै उनले एमाले सरकारमा हँदा एक मिनेट कोही संसदमा उभिए संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताए । उनले अर्ली इलेक्सनको विकल्प नभएकोसमेत बताए ।

 

 

प्रतिकृया दिनुहोस