प्रधानन्यायाधीशलाई अहिलेको संकटको निकास दिनुपर्ने न्यायाधीशहरुको निर्णय, भेटेर धारणा सुनाउने

Supreme court13

काठमाडौँ । सर्वोच्चका न्यायाधीशहरुको बैठक सकिएको छ। न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै अहिलेको संकटको निकास दिनुपर्ने निर्णय लिएको छ। 

न्यायाधीश मीरा खड्काको च्याम्बरमा तीन घण्टा भन्दा धेरै लामो छलफलपछि न्यायाधीशहरुले प्रधानन्यायाधीशले नै अहिलेको समस्याको निकास दिनुपर्ने निचोड निकालेका हुन्। 

सर्वोच्च अदालतको बेन्चसमेत अघोषित रुपमा बहिष्कार गरेका उनीहरुले यसबारेमा मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने भएका छन्।

‘अहिलेको संकटको निकास प्रधानन्यायाधीशले नै दिनुपर्छ भन्ने कुरा भएको छ। उहाँलाई हामी भोलि बिहान भेट्दैछौँ,’ छलफलमा सहभागी एक न्यायाधीशले भने, ‘अहिलेको समस्या समाधानका उपायबारे भोलि हामी प्रधानन्यायाधीशसँग छलफल गर्छौँ।’

स्रोतका अनुसार छलफलमा सहभागी न्यायाधीशहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका छन्। अहिलेको संकटको कारण नै प्रधानन्यायाधीश भएकाले उनले राजीनामा दिनु नै उचित हुने उनीहरुको मत रहेको छ।

यसैबीच सर्वोच्च अदालत बार एसोसियशन र नेपाल बार एसोशियसनको बैठक अहिले बसिरहेको छ ।दुवै बारको नेतृत्वलाई प्रधानन्यायाधीश जबराविरुद्ध कडा कदम चाल्ने गरी निर्णय लिन वकिलहरुले दबाब बढाएका छन्।  

प्रतिकृया दिनुहोस