महाकाली नदीमा पानीले खतराको सतह नाघ्यो, आवागमनमा रोक

Mahakali nadi badhi

कन्चनपुर । आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

देशका पाँच वटा प्रदेशमा अहिले ठूलो पानी परेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो । लगातार परेको पानीले महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढी आएको छ ।

डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदी अन्तर्गत पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, प्युठान, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र म्याग्दीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ । भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस