धनकुटाका अगुवा कृषक, जो बिरुवासँग यसरी नै रमाउँछन्

Bharat guragai dkt

धनकुटा । एउटा सानो र टिटिक्क परेको घर, जहाँ पाइला टेक्ने वित्तिकै बेग्लै आनन्द आउँछ । घर वरिपरी रहेका सुन्तला, कागती लगायतका डेढदेखि दुई फुटसम्मका विरुवामै लटरम्म फलेका फलफुल । हेर्दा लाग्छ, यो नै एउटा स्वर्गको टुक्रा हो ।

यो दृष्य धनकुटा नगरपालिका ७ चुलिवनका भरतप्रसाद गुरागाईँको घरको हो । गुरागाइँको घरको वरिपरी रहेका दृष्यले सबैलाई मोहित मात्रै गराउँदैन, मेहेनत गरे के हुँदैन र भन्ने पनि प्रमाणित गराउँछ ।

उमेरले ६१ वर्ष पुगेका भरतप्रसाद गुरागाइँ र उनकी श्रीमती पूर्णकला बिहानदेखि साँझसम्म करेसाबारीमै भेटिन्छन् । हिउँद न वर्षा, सधैं गुरागाइँ दम्पतिलाई जहिल्यै पनि कामको चटारो छ । एक छिन फुर्सद हुँदैन । फलफुलका बोट बिरुवा उमार्ने र लगाउने काममै ब्यस्त रहन्छन् दुवै जना ।

बिहान उज्यालो हुने बित्तिक्कै गुरागाईँ दम्पती करेसाबारीतर्फ लाग्छन् । बोट बिरुवाकै स्याहार सुसारमा उनीहरुको पूरै दिन बित्छ । यसमै रमाउने गरेका छन् उनीहरु । आँगनदेखि बारीसम्म अनेक थरीका फलफुलका बोट बिरुवाहरु छन् । देख्दा साना साना विरुवा देखिए पनि बोटले थाम्नै नसक्नेगरी लटरम्म फलेका छन् ।

यिनै फलफुलका बोट बिरुवा बेचेर गुरागाईँ दम्पतीले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । मेहेनत गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल बनेका छन् भरतप्रसाद र पूर्णकला । दुवै जना धनकुटा जिल्लामै उदाहरणीय किसान बन्न सफल भएका छन् ।

६ रोपनीमा लगाइएको विरुवा र फलफुलबाट बार्षिक २५ लाखको कारोबार हुने गरेको पूर्णकला बताउँछिन् । सबै खर्च कटाएर बार्षिक १५ लाख रुपैयाँ बच्ने गरेको उनीहरु बताउँछन् । यसबाट घर खर्च, स्वास्थ्य उपचार र छोरा छोरीलाई राम्रै ठाउँमा पढाउन कुनै समस्या नभएको गुरागाईँ दम्पतीको भनाइ छ ।

गुरागाईँ दम्पतीको यही मेहनतका कारण जिल्लाकै नमूना नर्सरी व्यवसायीको परिचय बन्न सकेको हो । यो व्यवसाय उनीहरुले सहजै गर्न सकेका भने होइनन् । सफल व्यवसायी बन्न उनीहरुलाई विभिन्न समस्या र चुनौतीहरुको सामना गर्नुपरेको थियो । ‘समस्या धेरै आए, हामीले श्रीमान श्रीमती मिलेरै समाधान गर्दै गयौँ’ उनले भने, ‘हामीले कसैको कुरा नसुनी लगातार नर्सरी चलाउँदै आएका छौं । अब त जसले जे भने पनि यसमै रमाउने बानी परिसक्यौँ ।’

उनले केही समय राजनीतिमा समेत बिताए । तर त्यसबाट पार लाग्न सम्भव नदेखेपछि भरत प्रसादले सफल किसान बन्ने बाटो रोजे । उनलाई श्रीमती पूर्णकलाले पनि भरपूर साथ दिइन् ।

‘जिविकोपार्जनको उत्तम उपाय यही देख्यौँ’, पूर्णकलाले भनिन्, ‘सफल किसान बनेर पनि समाजसेवा गर्न सकिन्छ भन्ने लाग्छ ।’ आफुले प्राप्त गरेको अनुभव गुरागाईँ दम्पती अरु गाउँलेलाई पनि साँटासाँट गर्दै आएका छन् ।

गुरागाईँ दम्पतीकै सिको गरेर गाउँका अरुले पनि बिरुवा उत्पादनमा हात हालेका छन् । सुरुआतमा गुरागाईँ दम्पती पनि परम्परागत रुपमा खेती किसानी गर्दै हुर्किएका हुन् । बा आमाले भैँसीपालन र सामान्य फलफुल खेती गरेको भरतप्रसादले देखेका थिए । उनले बा आमाको मेहनत देखेर खेती किसानीमा रुचि राखे । तर परम्परागत खेती किसानीले उँभो लाग्ने नदेखेपछि उनले फरक किसिमले खेती किसान गर्ने मनसाय बनाए ।

भरत २०४१ सालमा धनकुटाकै भिरगाँउबाट बसाइँ सरेर धनकुटाकै चुलिवन छेउ पुगे । चुलिवन शहर थियो । तर पनि उनले आफ्नो रुचीलाई त्याग्न सकेनन् । गुरागाइँले नर्सरीबाट पर्याप्त आम्दानी गर्ने लक्ष्यका साथ बिरुवा उत्पादनको व्यवसाय शुरु गरे । उनी भन्छन्, ‘पहिले कृषी केन्द्रबाट केहि विरुवा ल्याएर फलफुल खेती शुरु गरे । सानैदेखि बुबाले फलफुल खेती गर्नुपर्छ । यसबाट राम्रो आम्दानी लिन सकिन्छ भनेर प्रेरणा दिएकै कारण यही पेशा रोजेँ ।’

सुरुआतमा अन्यन्त्रबाट विरुवा ल्याएर रोपे पनि केहि समयपछि आफैँ बिरुवा उत्पादनतर्फ लागेको उनी बताउँछन् । २०४५ मा कृषी विकास बैंकबाट ऋण लिएर निशान विरुवा नर्सरी फार्म खोलेर उनले विरुवा उत्पादन गर्न थालेका थिए । थारै लगानीमा सुरु गरेका उनको यो व्यवसाय सफल बन्यो । यसमा उनकी श्रीमती पूर्णकलाको उत्तिकै ठूलो हात छ ।

यसरी व्यावसायिक रुपमा विरुवा उत्पादन गर्न थालेपछि उनले अनुसन्धान केन्द्र पारीपात्ले , पाख्रीबास कृर्षि फर्म, लुम्ले पोखरा, खुमलटार, बागबाडी कृषी फर्म किर्तीपुरसम्म पुगेर नर्सरीसम्बन्धि तालिम लिएका थिए ।

अहिले उनले बार्षिक करिब २ लाख विरुवा उत्पादन गर्छन् । उनको नर्सरीमा उत्पादन भएका बिरुवा तेह्रथूम, पाँचथर, संखुवासभा, भोजपुर, मोरङ, सुनसरीदेखि सुर्खेतसम्म बिक्री हुने गरेका छन् । सुन्तला, कागती, किन्नो, मन्तला, अनार, लिचि, आँप, जुनार, जैतुन, ड्रागन फ्रुट, एभोकाडो, धुपी लगायतका कलमी र बिजु विरुवाहरु उत्पादन गर्ने गरेको गुरागाइँ बताउँछन् ।

पैसा कमाउनकै लागि विदेश जानु पर्दैन । मेहेनत गरे खेती किसानी गरेर थोरै जमिनमा पनि पर्याप्त आम्दानी गर्न सकिने गुरागाईँ दम्पतीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...