मदन भण्डारी राजमार्ग निर्माण सुरु, स्थानीय दंग

Madan  bhandari

झापा । चुरे क्षेत्र विकासका दृष्टिकोणले निकै पछि परेको छ । जटिल भूगोलका कारण कतिपय ठाउँमा यातायातको पहुँच पनि छैन । पूर्वी नेपालको चुरे क्षेत्रको अवस्था पनि यस्तै छ । सानाठूला नदीमा पुल छैन, जसका कारण दक्षिणका शहरी क्षेत्रमा पुग्न निकै मुस्किल छ ।
A
यही भौगोलिक विकटतालाई तोड्ने चुरे क्षेत्र भएर पूर्व(पश्चिम राजमार्गको समानान्तर हुने गरी सरकारले ६ जेठ २०७५ मा मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको थियो ।

चुरे क्षेत्रको ‘लाइफलाइन’को रूपमा रहेको यो राजमार्गमा धरान(झापा खण्डअन्तर्गत करिब १२५ किलोमिटर सडक निर्माण हुनेछ । धरानको चतरादेखि झापाको मेचीनगरस्थित मेचीडाँगीसम्म निर्माण हुने मदन भण्डारी राजमार्गअन्तर्गत धरान(झापा खण्डमध्ये धरानदेखि झापाको दमकस्थित बेलडाँगीसम्म ५३ किलोमिटर र मेचीडाँगीदेखि पश्चिम शन्तिपुरसम्म १० किलोमिटर निर्माणको प्रक्रिया पनि सुरु भएको छ ।

यद्यपि, बेलडाँगी(शन्तिनगर खण्डको भने डीपीआर तयारीको काम पनि सकिएको छैन । १६ फागुन २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दमक र चुलाचुली जोड्ने रतुवा पुलबाट राजमार्गको दुई खण्डमा पर्ने ३१ वटा पुलको एकैसाथ शिलान्यास गरेका थिए । तर, बेल्डाँगी(शान्तिनगर खण्डको भने डीपीआर तयार नभएकाले सडक कति किलोमिटर हुने र कतिवटा पुल बन्ने भन्ने टुंगो नलागेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख श्याम यादवले बताए ।

‘हामीभन्दा माथिल्लो निकायले डीपीआर तयार पार्छ । यो बीचको डीपीआर तयार नभएसम्म धरान(झापा खण्ड कति किलोमिटर छ, कतिवटा पुल चाहिन्छ भन्ने टुंगिएको छैन’, उनले भने, ‘डीपीआरको काम सकिएको जानकारी पाएको छु । यसको पनि चाँडै टुंगो लाग्छ ।’

धरान(झापा खण्डअन्तगर्त धरानदेखि बेलडाँगीसम्म दुई खण्डमा सडक निर्माणको ठेक्का लगाइएको छ । पहिलो खण्ड धरानदेखि भलुवा खोला र दोस्रो खण्ड भलुवा खोलादेखि बेल्डाँगीसम्म छ । यी दुई खण्डको गत २९ असारमा निर्माण सम्झौता भएको हो । यो सडक ३० महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने कार्यालय प्रमुख यादवले बताए ।

उनका अनुसार धरानदेखि भलुवा खोलासम्मको करिब २५ किलोमिटर खण्ड ९३ करोड ३३ लाख रुपैयाँमा ठेक्का लागेको छ । यस्तै, दोस्रो खण्ड भलुवा खोलादेखि बेलडाँगीसम्मको करिब २८ किलोमिटर सडक एक अर्ब चार करोड रुपैयाँमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

यस्तै, मेचीडाँगी(शातिनगरको १० किलोमिटर सडक भने दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । यो खण्ड भ्याटसहित ३७ करोड ९५ लाख रुपैयाँमा निर्माण कार्य सुरु भएको छ । यी तीनै खण्ड निर्माणको काम श्रेष्ठ(मोतीदान जेभीले ठेक्कामा लिएको यादवले बताए ।

‘फिल्डमा सर्भेको काम सुरु भएको छ । अब बर्खा सकिएपछि निर्माणको काम नै सुरु हुन्छ’, उनले भने, ‘मेचीडाँगी(शान्तिपुर क्षेत्रमा त केही काम सुरु पनि भइसकेको छ । ३१ वटा पुलको काम पनि धमाधम भइरहेको छ ।’

निर्माणको काम सुरु भएपछि स्थानीयले जीवनस्तर उक्सिने आशा गरेका छन् । विकासको दृष्टिकोणले पछि परेको चुरे क्षेत्रका बासिन्दा सडक निर्माणले चुरे क्षेत्रकै मुहार फेरिने बताउँछन् । ‘यो त हाम्रो आशाको केन्द्र हो । पूर्व(पश्चिम राजमार्गले तल्लो क्षेत्रको विकास भएको थियो । हाम्रोतिर त गाडी पनि राम्ररी आउन सक्दैन थियो’, मेचीनगर( ३ का तेजबहादुर कार्की भन्छन्, ‘तर, अब राजमार्ग नै बन्ने भएपछि त हाम्रो ठाउँ पनि बन्नेमा आशावादी छौँ ।’

विगतमा बर्खाको समयमा रोजगारीका लागि दमकसम्म आउन पनि नसक्ने इलामका चुलाचुलीबासी पनि मदन भण्डारी राजमार्गको काम सुरु भएपछि खुसी छन् । बेलडाँगीदेखि चुलाचुली हुँदै शान्तिनगर क्षेत्रको डीपीआर नटुंगिए पनि रतुवा खोलामा पुल धमाधम बनेपछि चुलाचुलीबासीमा आशा पलाएको स्थानीय खगेन्द्र दर्नाल बताउँछन् ।

‘बर्खामा त हामी थुनिन्छौँ । पानी ठूलो आएका बेला खोला तर्न सकिँदैन । हाम्रो मुख्य बजार नै दमक हो । बजार जान नसकेपछि ठूलो समस्या हुन्छ’, उनी भन्छन्, ‘तर, अहिले त पुल धमाधम बन्दै छ । पुल बनेको देख्दा बाटो पनि बन्छ भन्नेमा आशावादी छौँ । अब त हाम्रो पनि दिन फेरिएला कि  ।

प्रतिकृया दिनुहोस