नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

Krisi news

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन गर्ने प्रक्रिया हो ।

कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा झन्डैण् आठ महिनाअगाडि दर्ता भई अस्तित्वमा आएको सो बैंकले स्थापनालगत्तै कृषि क्षेत्रमा योगदान सुरु गरेको छ ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार, बैंकले हाल झापाको गौरादह नगरपालिका–२ मा ५० बिघा जमिनमा ‘पाइलट प्रोजेक्ट’का रूपमा लोकल बासमती धानको खेती गर्दै आएको छ । यसै खेतीभित्र केही जमिनमा लोकल हाँस पालन गरिएको छ ।

यसैगरी सो बैंकले बर्दियाको गुलरिया नगरपालिका–३ खैरीमा करिब ६० बिघा जमिनमा लोकल बासमती धानको खेती सुरु गरेको छ । राइस डक फार्मिङअन्तर्गत सो बैंकले झन्डै एक हेक्टर जमिनमा तारजाली बाँधेर तीन साता उमेरको १ हजार चल्ला धानखेतीभित्र छाडेको छ ।

दिनभर धानखेतीभित्र चरेर बेलुका खोरमा फर्किने यी हाँसले खेतभित्रका किरा फट्यांग्रा तथा हिलो र झार खाने हुँदा धान गोड्ने कामसमेत यिनै हाँसबाट हुने बैंकका अध्यक्ष उप्रेतीले बताए ।

उनका अनुसार, परम्परागत ढंगले बोलीको माध्यमबाट खेतमा पठाइने र खोरमा सारिने यी हाँसको तौल पाँच महिनाको अवधिमा डेढ किलोभन्दा बढी हुन्छ । यी हाँस सो अवधिमा प्रतिहाँस १ हजार ५ सय रुपैयाँभन्दा बढीमा बिक्री गर्ने लक्ष्य सो बैंकको रहेको छ ।

पाइलट प्रोजेक्टका रूपमा सुरुवात गरिएको यो खेती सफल हुने विश्वास बैंकका अध्यक्ष उप्रेतीको रहेको छ । यो खेती सफल भएमा ‘लार्ज स्केल’मा खेतीलाई विस्तार गरिने लक्ष्य रहेको उनले सुनाए ।

दुई साताअघि धानखेतीमा छाडिएको ती चल्लाको तौल हाल २ सय ग्रामभन्दा बढी रहेको छ । धान फुल्ने बेला नहोउन्जेल करिब पाँच महिना धान खेतीभित्र रहने ती हाँसले प्रतिहाँस चारदेखि ६ किलो मलसमेत दिनुका साथै अर्गानिक खेतीमा समेत मद्दत गर्ने तथा वातावरण संरक्षणमा समेत योगदान पु¥याउने उप्रेतीको भनाइ छ ।

अध्यक्ष उप्रेतीका अनुसार, धानखेतीभित्र हाँसपालन गर्दा हाँसबाट धानको गोडमेल हुनुका साथै आहारको रूपमा किरा फट्यांग्राहरू खाने, हिलोमै खेल्ने तथा धानबाट निस्कने वायु प्रदूषणलाई रोक्ने काम गर्छ । उनले भने, ‘यो प्रविधिको खेती जापानमा सफल भएको छ ।’ जापानमा धान रोपेको करिब तीन सातामा खेतीभित्र हाँस छाड्ने गरेको उनले बताए ।

धानखेतीभित्र गरिने हाँस पालनले एउटै जमिन र एउटै लगानीमा आम्दानी बढी हुने भएकाले यो खेती सफल भएमा राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सकिने उनले बताए ।

यो खाद्य बैंक खाद्यान्नको बेसमा काम गर्ने नेपालको पहिलो बैंक हो । २ अर्ब रुपैयाँ पुँजी रहेको यो बैंकले सातवटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार भई ७५३ स्थानीय तहमा योगदान पु¥याउने लक्ष्य लिएको छ । यो बैंकले उत्पादन, भण्डारण तथा बिक्रीवितरण कार्यमा बिचौलियाको प्रवेशलाई रोक्न आफंैले गर्ने लक्ष्य लिएको छ । बैंकका अध्यक्ष उप्रेतीले भने, ‘परनिर्भरतालाई घटाउँदै देशलाई कृषि उपजमा आत्मनिर्भर गराउने लक्ष्यसमेत बैंकको रहेको छ ।’

सो बैंकले झापा र बर्दियामा स्थानीय कृषकसँग सहकार्य गरी करिब ९ सय ५० बिघा जमिनमा व्यावसायिक कृषि कार्य सुरु गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस