धनकुटा नगर प्रमुख र ५ जना वडाध्यक्षहरुको टसल : बजेटमा जनप्रतिनिधिको खेलै-खेल

Chintan tamang nishannews

धनकुटा । पाँच जना वडाध्यक्षहरुले धनकुटा नगरपालिकाले तयार गरेको बजेटको सिलिङप्रति असन्तुष्टि जनाएसँगै नगरप्रमुख र वडाध्यक्षहरुबीच आन्तरिक विवाद बढ्दै गएको छ ।

धनकुटा नगर प्रमुख चिन्तन तामाङले वडाहरुलाई दिँदै आएको बजेटमा झण्डै ६० प्रतिशतसम्म कटौती गरेपछि ५ जना वडाध्यक्षहरु आक्रोसित बनेका छन् । उनीहरुले नगरपालिकाले बजेटको सिलिङ तोक्दा संघीयताको मर्म र भावना विपरित वडाहरुमा जाने बजेट कटौती गरेको भन्दै नगरपालिकाको बैठकसमेत बहिष्कार गरेका छन् ।

धनकुटा नगरपालिका वडा नं. ३ का विकास घिमिरे, वडा नं. ५ का धनकुमार राई, वडा नं. ६ का नरेष श्रेष्ठ, वडा नं. ८ का सुमन राई र वडा नं. ९ का वडाध्यक्ष मनोज रायमाझीले नगर प्रमुख तामाङले बजेट एकलौटी गरेको आरोप लगाउँदै आएका छन् ।

तर नगरप्रमुख तामाङले भने वडाध्यक्षहरुले चार वर्षको अवधमिा सिन्को पनि भाँच्ने काम नगरेको आरोप लगाउँदै आउनु भएको छ । नगरप्रमुख तामाङले स्थानीय तह गठन भएयताको चार वर्षमा वडाहरुमा गएको बजेटको खोजी गर्नुपर्ने बेला आएको बताउँदै आएका छन् ।

धनकुटाका ५ जना वडाध्यक्षहरुले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै नगर प्रमुख तामाङले गरेको एकलौटी रुपमा वडाहरुमा दिइने बजेट कटौती गरेर जनविरोधी कार्य गरेको भन्दै उक्त कार्यको विरोधमा जनतामाँझ जाने बताए । तर, नगरप्रमुख तामाङले वडाध्यक्षहरुले बजेट बहिष्कार गरे जनतालाई बोलाएर जनताकै छनौटमा बजेट दिइने बताए ।

‘वडाध्यक्षहरुले अहिलेसम्म के काम गरे ? सधैं ठूलो कुरा गरेर मात्र हुन्छ ?’ तामाङले निशान न्युजसँग भने, ‘चार वर्षको अवधीमा कुन चाँही वडाध्यक्षले आफ्नो वडामा राम्रो काम गरे ? त्यो देखाउनुपर्छ कि पर्दैन ? म अब जनतको घरघर गएर उनीहरुले गरेको कामको हिसाव किताव खोज्न लगाउछु ।’

नगरको खानेपानीको विकासका लागि थप बजेट आवश्यक पर्ने हुँदा वडाहरुमा केही रकम घटाइँदा वडाध्यक्षहरु आक्रोसित हुनुपर्ने कुनै कारण नभएको उनको तर्क छ ।

वडाध्यक्षहरुले वडाको अधिकार कटौती गरी निरंकुश शैलीले बजेट विनियोजन गर्दा विकासमुखी र यथार्थपरक नभई वितरणमुखी मात्रै भएको आरोप पनि लगाएका छन् । तर नगर प्रमुख तामाङले भने वडाध्यक्षलाई बजेट दिनैपर्ने बाध्यकारी नियम नरहेको पनि जिकिर पनि गरे ।

आखिर केको लफडा हो त ?
विगतमा धनकुटा नगरपालिकाका १० वटै वडाहरुले वार्षिक रुपमा ६० लाख रुपैयाँ पाउँदै आएका थिए । तर, यो वर्ष भने झण्डै ६० प्रतिशत बजेट कटौती गरिएको छ ।

अघिल्लो वर्ष वडा नं. १ ले ६० लाख पाएकोमा यो वर्ष नगरपालिकाले ३० लाख मात्रै दिने गरीको सिलिङ तोकेको छ । त्यसैगरी वडा नं. २, ३, ४ र ५ ले यो वर्ष प्रत्येक वडाहरुले साँढे २२ लाख रुपैयाँका दरले मात्रै बजेट पाउने भएका छन् । अघिल्लो वर्ष वडा नं. २ ले ६० लाख पाएको थियो भने अरु वडाहरुले प्रति वडा ५० लाख पाएका थिए ।

त्यसैगरी यो वर्ष वडा नं. ६, ७, ८ र ९ ले प्रति वडामा २५ लाखका दरले बजेट पाउँदै छन् । तर, अघिल्लो वर्ष प्रत्येक वडाहरुले ६०/६० लाख बजेट पाएका थिए । वडा नं. १० ले अघिल्लो वर्ष ५५ लाख पाएकोमा यो वर्ष साँढे २२ लाख पाउनेगरी नगरपालिकाले सिलिङ तोकिदिएको छ ।

यसरी यो वर्ष नगरपालिकाले बजेट झण्डै ६० प्रतिशत घटाइदिएपछि वडाध्यक्षहरु निक्कै आक्रोसित बनेका छन् । उनीहरुले संघीयताको मुल मर्म र भावना विपरित नगरप्रमुख तामाङले सबै बजेट आफ्नो योजनामा खर्च गर्नेगरी राखेको बताएका छन् ।

‘जनताले पाउने बजेटमा मेयर साबले यसरी मनपरी गर्न त कहाँ पाउनु हुन्छ त ?’ वडा नं. ९ का वडाध्यक्ष सन्दिप रायमाझीले निशान नयुजसँग भने, ‘संघीयताको मर्मलाई मार्नेगरी बजेटलाई नगरमा राख्न पाइँदैन, यो ऐनले नै दिँदैन ।’

नगरप्रमुख तामाङले भने यो वर्ष धनकुटामा खानेपानीको सहजताका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएका कारण पनि वडाहरुको बजेट कटौती गरिएको बताउँछन् ।

प्रतिकृया दिनुहोस