निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर शंका उत्पन्न भएको जसपा अध्यक्ष यादवको आरोप

Upendra yadav

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भीर शंका उत्पन्न भएको आरोप लगाएका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप निर्वाचन आयोगले गरेको बताएका छन्।

यादवले आयोगको उक्त निर्णय मान्य हुन नसक्ने भन्दै उक्त कारबाहीविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाईं जारी रहनेसमेत चेतावनी दिएका छन्।

गत जेठ २७ गते जसपाको कार्यकारणी समितिको बहुमतको निर्णयबाट महन्थ ठाकुर लगायत केही सदस्यहरुलाई अनुशासनको कारबाही गरी पार्टीको जिम्मेवार पदबाट हटाएको थियो।

जसपाले उक्त निर्णय सम्बन्धी कागजात तथा निर्वाचन आयोगले मागेबमोजिमको कागजात प्रमाणसमेत बुझाई पार्टीको दल दर्ताको किताबमा अध्यावधिक गर्न पठाएको थियो। तर, निर्वाचन आयोगको जेठ ३० गतेको बैठकले अध्यावधिक गर्न अस्वीकार गरेको थियो। सोही विषयलाई लिएर जसपा अध्यक्ष यादवले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

उक्त निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको उनको निष्कर्ष छ।

‘निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भइ निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भीर शंका उत्पन्न भएको छ।’

प्रतिकृया दिनुहोस