प्रदेश १ को नीति तथा कार्यक्रम : स्वास्थ्यलाई पहिलो प्राथमिकता ( पूर्ण पाठसहित)

Somnath pyasi niti pes gardai

काठमाडौं । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बिहीबारको प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारले अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई दुई सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शैयामा स्तरोन्नति गरिने सरकारको तयारी छ ।

गरिब तथा विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने प्रदेशप्रमुख प्यासीद्वारा पेस गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, सबै माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा किशोर किशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौनशिक्षा प्रदान गर्न स्थानीय तहहरूसँग समन्वय गर्ने सरकारको वार्षिक नीतिमा समावेश गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयमा प्रदान गरिने दिवाखाजा तथा पोषण सामग्रीको स्तरीयता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्डमा आधारित उक्त सामग्रीको आपूर्ति व्यवस्थापनसमेत गर्ने जनाएको छ ।

कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको योजना छ ।

यता, मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरलाई स्तरोन्नोति गरी आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने सरकारको तयारी छ ।

त्यसैगरी प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चितताका लागि ऐन बन्ने भएको छ । प्रदेश प्रमुख प्यासीले जातीय विभेद न्यूनीकरण र छुवाछूत मुक्त प्रदेश बनाउन दलित समुदायको अधिकारसम्बन्धी ऐन बनाइने बताए । उनले सो समुदायको उत्थान र समुदायका लागि अधिकार सम्पन्न संरचनासमेत निर्माण गरिने बताए । 

 

 

 

 

प्रतिकृया दिनुहोस