सञ्चार मन्त्रालयमा बादल पत्नी नैनकला थापालाई चिठ्ठा, यस्तो छ रामकहानी

Nainakala thapa

काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्रालय सरकारको प्रवक्ता सम्हाल्ने मन्त्रालय पनि हो । अहिलेसम्म सञ्चारमन्त्री नै सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने व्यक्ति पनि हुन् । त्यही भएर सञ्चारमन्त्री चाँही प्रधानमन्त्रीले विश्वास गरेको व्यक्तिलाई बनाइने गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलोपटक महिलाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको छ । ओलीले आज विस्तार गरेको मनित्रमण्डलमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् ।

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् ।

उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा उनी पनि बादलसँगै भूमिगत भएकी थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनले महिला आयोगको अध्यक्ष पद हात पारेकी थिइन् । बादलसँग उनको २०४० सालमा बिवाह भएको हो । बादल एमाले प्रवेशसँगै उनले एमाले नेतृत्वको कामचलाउ सरकारमा मन्त्री बन्ने अवसर पाइन् ।

५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खोमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।

२७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहो¥याए । तर सर्वोच्चले ६ जेठमा संविधानको धारा ७८ अनुसार भएका बाललसहितका ७ मन्त्रीलाई पदपुक्त गरिदियो ।

पछिल्लोपटक पनि फेरि माओवादी खेमाबाट एमालेमा प्रवेश गरेकाहरुलाई नै मन्त्री नियुक्त गरियोस् भन्ने थियो । तर प्रधानमन्त्रीले सर्वोच्चको आदेशका कारण नमिल्ने बताएपछि मन्त्रीमा नैनकलाको इन्ट्री भएको एक पूर्व मन्त्री बताउँछन् ।

थापा पत्नी नैनकला थापा एमाले नेतृको हैसियतमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेकी छन् । यस अर्थमा थापाको सिंहदरबारको बिरासत नैनकलाको काँधमा आएको छ ।

पालैपालो पति–पत्नी मन्त्री भएको र एकैपटक सञ्चार तथा सूचना प्रविधिमन्त्रीजस्तो महत्वपूर्ण मन्त्रालय दिइएको भन्दै नैनकलाको क्षमतामाथि प्रश्न पनि उठेका छन् ।

फागुन २३ मा नेकपा भंग भएपछि पूर्वमाओवादीका तर्फबाट थापा सबभन्दा वरिष्ठ नेता हुन्, जो एमालेमा गएका थिए । यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई खुसी पार्न र पूर्वमाओवादीको सहानुभूति लिन नैनकलालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको जिम्मेवारी दिएको बुझ्न कठिन छैन ।

पूर्वमाओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी हुन् । तर, मन्त्री कसलाई बनाउने भन्ने विषयमा पूर्वमाओवादीभित्रै छलफल नभएको यसअघि ओली सरकारमा रहेका एक मन्त्रीले बताए । उनका अनुसार थापाले नैनकलालाई मन्त्री बनाउने निर्णय एकलरुपमा लिएका हुन् ।

यसअघि २०६४–२०६८ सम्म महिला आयोगको अध्यक्ष भएर काम गरेकी र पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा रहेकी नैनकलाले संचार मन्त्रालय कसरी चलाउँछिन् ? प्रश्न भने उठेको छ । नैनकलासँग राजनीतिक सहकार्य गरेकाहरुको यसबारे मिश्रित प्रतिक्रिया छ ।

प्रतिकृया दिनुहोस