काठमाडौं-दोहा नियमित उडान सुरु, यस्तो छ नेपाल आएपछि अपनाउनुपर्ने नियम  

Bidesh 18

काठमाडौँ । कोरोना महामारीका कारण बन्द भएका नियमित उडानहरूमध्ये सीमित गन्तव्यका उडान पुनः सुरू भएको छ । टर्की, चीन र कतारका लागि सीमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार सोमबारबाट कतारको दोहामा उडान सुरू भएको हो ।

वैशाख २० देखि टर्कीको इस्तानबुलमा साताको एक उडान गर्न अनुमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले दोहाका लागि दुई उडानको अनुमति दिएको छ । काठमाडौं दोहाका लागि कतार एयरवेज र नेपाल एयरलाइन्सले प्रत्येक सोमबार एक एक उडान गर्ने छन् ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीका अनुसार कतार हुँदै अरू देशमा रहेका नेपाली पनि आउन पाउने छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारत बाहेकका गन्तव्यमा वैशाख २३ देखि नियमित उडान बन्द गरिएको थियो ।

भारतको नयाँदिल्लीमा भने साताको दुई उडान जारी छ । उडान सुरु भएसँगै साउदी अरब, युएई लगायत देशबाट कतार हुँदै नेपाल आउनेको संख्या पनि ह्वात्तै बढेको छ ।

नेपाल आउँदा के–के छन् नियम ?
विदेशबाट नेपाल आउनेका लागि न्यूनतम नियमहरूमध्ये कोरोना परीक्षण नेगेटिभ भएको पिसिआर रिपोर्ट (फोटो र बारकोडसहित), नेपाल आएपछि आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने लगायत छन् ।

१) पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोडर क्युआर कोडसहितको पिसिआर रिपोर्टमा कोभिड नेगेटिभ रहेको चाहिन्छ ।

२) नेपाल आएपछि १० दिन अनिवार्य होटलमा क्वारेन्टिन बस्नुपर्छ । वैदेशिक रोजगारमा गएकाहरूका लागि भने पाँच दिन मात्र क्वारेन्टिन बसे पुग्छ । यसका लागि वैदेशिक रोजगारमा गएकाहरूले पाँच दिनको होटल बुकिङ र अरूले १० दिनको बुकिङ देखाउनुपर्छ ।

३) १० दिन होटलमा क्वारेन्टिन बसेपछि आफ्नै खर्चमा कोरोना परीक्षण गर्नुपर्छ । कोभिड रिपोर्ट पोजेटिभ आए कम्तीमा १० दिन कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले तोकेको आइसोलेसन सेन्टर वा तोकिएको अस्पताल वा होटल आइसोलेसनमा अनिवार्य बस्नुपर्छ ।

४) क्वारेन्टिन बसेर कोरोना नेगेटिभ रिपोर्ट आएपछि यात्रुले आफ्नो घर जान पाउने छन् ।

५) हवाई उडानबाट नेपाल आएका यात्रुहरूलाई क्वारेन्टिनका लागि होटलसम्म लैजाने, सम्बन्धित यात्रुहरू १० दिनको होटल क्वारेन्टिनमा बसे नबसेको अनुगमन गर्ने, होटल क्वारेन्टिनमा बसेका व्यक्ति बिरामी भए उपचारको व्यवस्था गर्ने, १० दिनको होटल क्वारेन्टिन पूरा गरेका व्यक्तिलाई गन्तव्य स्थानसम्म जान सहजीकरण सिसिएमसीले गर्नेछ ।

६) आफन्तको अन्तिम संस्कार (काजकिरिया) मा सहभागी हुन विदेशबाट नेपाल आउनेलाई भने होटल क्वारेन्टिन बस्नुपर्ने छैन । उनीहरूलाई स्थानीय तहको सिफारिसका आधारमा १० दिन घरमै क्वारेन्टिन बस्ने गरी घर जाने व्यवस्था मिल्ने छ ।

७) बिरामीसँग आएका कुरुवा (हेरालु) को हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान अनुमति दिइने छ ।

८) ७५ वर्षमाथिका जेष्ठ नागरिक, ५ वर्षभन्दा मुनिका नाबालक र नाबालकसँगै आएका आमा र बाबुका हकमा स्थानीय तहको सिफारिसका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घररगन्तव्यमा जान पाइने छ ।

९) विमानस्थलदेखि होटलसम्म, होटलदेखि गन्तव्यसम्म जान यातायातका लागि स्थानीय प्रशासन तथा सिसिएमसीले सहजीकरण गर्ने । यसको खर्च भने यात्रुले नै तिर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस