मनाङको कोभिड अस्पतालमा छैनन् डाक्टर, सिकिस्त हुँदा हेलिकप्टरको भर

16209070521620907052

काठमाडौँ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै हिमालपारिको जिल्ला मनाङका अस्पतालमा उपचार अभाव र व्यवस्थित आइसोलेसनको व्यवस्थापन हुन सकेको छैन।

आइसोलेसन अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमुनि राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताउँछन्। 

‘जिल्लामा कोभिड अस्पतालको रूपमा  घोषणा गरिएका तीन वटा अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमुनि राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ,’उनले भने,‘सङ्क्रमितको अवस्था जटिल भएमा हेलिकप्टर चार्टर गरेर पोखरा या काठमाडौँ पुर्‍याउनुको विकल्प छैन।’

जिल्लाका स्थानीय तहहरूले आइसोलेसन वार्ड तयार पारिरहेका छन्। तर, सम्पन्न हुन सकेका छैनन्। जस कारण केही दिनअघि सङ्क्रमण देखिएका एक दम्पत्तिलाई टेन्टमुनि राखेर तीन दिनसम्म उपचार गरिएको थियो। उनीहरूको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको उनले जानकारी दिए।

अस्पतालमा जनशक्ति अभाव

कोभिड अस्पतालको रूपमा घोषणा गरिएको जिल्ला सदरमुकाम चामे स्थित जिल्ला  अस्पताल र अन्य २ अस्पतालमा स्वास्थ्य उपकरण सञ्चालन गर्ने जनशक्ति र चिकित्सकको अभाव देखिएको छ। जिल्ला अस्पतालको नयाँ भवन निर्माण कार्य भइरहेकोले पुरानो भवनमा  बिरामीका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ।

आइसोलेसन नहुँदा बिरामीलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालकी निमित्त प्रमुख प्रतिभा गौली बताउँछिन्। ‘अस्पतालको नयाँ भवन निर्माण कार्य भइरहेको छ। आइसोलेसन वार्डका लागि ठाउँ अभाव छ,’उनी भन्छिन्,‘यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष सञ्चालन गर्न सक्ने जनशक्ति छैनन्।’ जनशक्तिको अभावका कारण सबै उपकरणहरू सञ्चालनमा ल्याउन नसकिएको उनको भनाई छ।

स्थानीय तहहरूले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने सिडिओ लामिछाने बताउँछन्। सङ्क्रमित बढ्दै जाँदा जिल्लामा भयावह अवस्था आउनेतर्फ प्रशासन सजग रहेको उनले बताए।

सङ्क्रमितलाई हेलिकप्टरबाट पोखरा र काठमाडौँ

जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा र काठमाडौँ पठाइएको छ। 

यस्तै पिसिआर परीक्षणमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल सिल गरिएको छ। अस्पतालमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको निमित्त प्रमुख गौलीले जानकारी दिइन।

त्यस्तै जिल्लाका चार स्थानीय तहमध्ये दुई स्थानीय तहको सेवा समेत रोकिएका छन्। यी पालिकाले आज बिहीबारबाट आफ्नो सेवा रोकेका हुन्। मङ्गलवार मनाङ ङिस्याङ गाउँपालिकामा एक बिदेसी नागरिक सहित २५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका थिए। चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएसँगै पालिकाका सेवा प्रवाह रोक्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ। 

  

प्रतिकृया दिनुहोस