फौजीकीराले मकैबाली नष्ट गरेपछि म्याग्दीका किसान चिन्तित

Fauje kira

म्याग्दी । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले थलापरेका बेला खेतबारीमा लगाइएको मकैबाली फौजीकीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेको छ ।

मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका–२, बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए ।

बगरफाँटको ४०० रोपनी क्षेत्रफलको फाँटमा फौजी कीराले मकैबाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताए । यसअघि गहुँबालीमा समेत कीरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आशा गरेर बसेका किसानहरू मकैबाली पनि कीराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् ।

ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताए ।

कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरुपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए ।

प्रतिकृया दिनुहोस