आज इद : स्वास्थ्य मापदण्ड पालना गरी पर्व मनाउन आग्रह

Eid1

काठमाडौं । आज (शुक्रबार) मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान, जसलाई इद–उल–फित्र पनि भन्ने गरिन्छ। यो दिनलाई मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने गर्दछन्।

इदका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशसमेत दिएकी छन्। उनले सन्देशमार्फत आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।

शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणको दोस्रो लहरबाट बच्नका लागि भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गरी इद मनाउनसमेत आग्रह गरेकी छन् ।

त्यसैगरी, इदकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् । ओलीले शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने बताएका छन्।

सन्देशमार्फत ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपसी सद्भाव र सहिष्णुताका साथ कोरोनाबाट बचेर पर्व मनाउन आग्रह गरेका छन्।

मुस्लिम धर्मावलम्बीले एक महिनाको कठोर उपवासपछि आजको दिन अल्लाहको प्रार्थना गरेर रमजान मनाउँछन्।

 

प्रतिकृया दिनुहोस